Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचन आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण

  • PNN Times
  • शुक्रवार, बैशाख २ २०७९


  • निर्वाचन आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण

    वैशाख १ , काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

    निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।

    images

    ‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’

    आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ ।

    ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी पोष्टरमा तपाईंको समेत फोटो राखी प्रचार प्रसार गरिएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको समाचार प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ स्पष्टीकरण पत्रमा सोधिएको व्यहोरा उदृत गर्दै सचिवालयले भन्यो, ‘७ दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।’

    आयोगले पोष्टरमा फोटो राखिएको विषयमा सहमति होइन भने अहिलेसम्म सार्वजनिक रुपमा किन आपत्ति नजनाएको भनी प्रश्न गरेको छ ।

    ‘सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण अन्तर्गत कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नहुने विषय समेत रहेकोमा आचारसंहिता उल्लंघन गरेको आधारमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’आयोगले कुलमानलाई सोधेको छ ।

    निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ । उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेश गरेको बताएका थिए । आयोगले उनलाई पत्र लेखी निर्वाचन आयोगमा बुझाएको विवरण सही हो वा होइन भनी प्रश्न गरेको छ ।

    ‘तपाईंले निर्वाचन आयोगमा खर्चको विवरण बुझाउँदा यो विवरण सही होइन भनी कुनै फरक मत दर्ता गराउनुभएको थियो थिएन ?’ आयोगका उपसचिव सुभासकुमार भट्टराईले पठाएको पत्रमा भनिएको छ ।

    शुक्रवार, बैशाख २ २०७९०७:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend