काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । सो वर्षाले हिमाली जिल्ला मनाङसहित कम्तीमा २९ जिल्ला बढी प्रभावित हुने प्रारम्भिक आकलन छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको मौसम विश्लेषणअनुसार, सो प्रणालीको प्रभावले तीन–चार दिनसम्म पानी पर्ने र केही स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।
भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने सो प्रणालीको प्रभावले बिहीबार रातिदेखि वर्षाको गतिविधि थप बढ्ने पूर्वानुमान छ ।
अहिलेको प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ ।
नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने जनाएको छ । तर वर्षाको मात्रा र जोखिम क्षेत्र भने महाशाखाले सार्वजनिक गरिसकेको छैन ।
डा. पोखरेलले भने जोखिम नक्सा सार्वजनिक गर्दै कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन् ।
उनले प्रस्तुत गरेको नक्सामा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम हुन सक्ने देखाइएको छ ।
यद्यपि, अहिलेको पूर्वानुमान प्रारम्भिक भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र बढी जोखिममा पर्ने जिल्लाहरू परिवर्तन हुन सक्ने डा. पोखरेलले बताएका छन् ।