२५ भदौ, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।
सुत्केरी व्यथा लागेपछि ती महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेको र बाध्य भएर सडक पेटीमै बच्चा जन्माएको पीडित पक्षको दाबी छ ।
घटना बुधबार बिहान करिब साढे २ बजेको हो । पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश महिला राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान हुन् ।
सरकारी अस्पताल अगाडि फुटपाथमा विपन्न महिला प्रसूति भएको भिडियो सार्वजनिक भएपछि सरकार र अस्पतालको चर्को आलोचना भइरहेको छ । दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।