गण्डकी । जोमसोम, १६ असोज — मुस्ताङको थासाङ गाउँपालिका-५ निवासी २६ वर्षीया सम्झना सुनारको गर्भावस्था गम्भीर बनेपछि आज असोज १६ गते आकस्मिक हवाई उद्धार (Heli Rescue) गरी थप उपचारका लागि पोखरा लगिएको छ।
प्रदेश अस्पताल, जोमसोममा उपचाररत सुनारको स्वास्थ्य अवस्था जटिल भई आमा र शिशु दुवैको ज्यान जोखिममा परेको थियो। उक्त संवेदनशील अवस्थालाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको पहलमा उहाँको तत्काल हवाई उद्धार गरिएको हो।
जोमसोमबाट उद्धार गरी उहाँलाई थप उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा भर्ना गरिएको छ।
यस संवेदनशील कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध निकायहरूप्रति स्वास्थ्य मन्त्रालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ।