साउन ८, गण्डकी । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रविधिमैत्री प्रशासन र सुशासनको दिशामा महत्त्वपूर्ण फड्को मारेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ देखि आफ्ना सम्पूर्ण कार्यालयीय कामकाज एकीकृत कार्यालय व्यवस्थापन प्रणाली तथा विद्युतीय हस्ताक्षर मार्फत पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।
माननीय सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङज्यूको नेतृत्वमा यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो। अब मन्त्रालयका सेवा तथा आन्तरिक फाइल स्वीकृतिका कामहरू पूर्ण रूपमा प्रविधिमा आधारित माध्यमबाट सम्पादन हुनेछन्, जसले गर्दा परम्परागत कागजी प्रक्रियाको अन्त्य हुनेछ।
यस व्यवस्थाले मन्त्रालयको कामकारबाहीलाई थप छिटो, छरितो, पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।
नयाँ प्रणालीबारे जानकारी दिँदै मन्त्री गुरुङले प्रविधिमैत्री प्रशासन, पारदर्शी सेवा प्रवाह र सुशासनप्रतिको प्रतिबद्धतालाई व्यावहारिक रूपमै पुष्टि गर्न यो कदम चालिएको बताउनुभयो। कागजी फाइलको झन्झट हट्नुका साथै सेवाग्राहीका कामहरू समयमै सम्पन्न हुने र सरकारी ढिलासुस्ती अन्त्य गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको विश्वास छ।