Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता न्यौपानेको उम्मेदवारी घोषणा

पर्वतबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता न्यौपानेको उम्मेदवारी घोषणा

  • PNN Times
  • शनिवार, आश्विन १० २०८३


  • पर्वतबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा नेता न्यौपानेको उम्मेदवारी घोषणा

    असोज १०, पर्वत। नेपाली कांग्रेस पैयूँ गाउँपालिका कार्यसमितिका निवर्तमान सचिव एवं पैयूँ–१ का वडा अध्यक्ष युवा नेता मिन प्रसाद न्यौपानेले पर्वत जिल्लाबाट खुला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी असोज १२ र १३ गते हुन गइरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

    त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर (एम.एड.) सम्पन्न गरी गाउँ फर्किएका न्यौपाने लामो समयदेखि स्थानीय राजनीति र समाजसेवामा सक्रिय छन्। करिब ५ वर्ष स्नातक तहमा प्राध्यापनका साथै पैयूँ गाउँपालिकामा जनसम्पर्क अधिकृतका रूपमा काम गरिसकेका उनी हाल पैयूँ गाउँपालिका वडा नं. १ (टकलाक) का निर्वाचित वडा अध्यक्ष हुन्।

    images

    नेविसंघ पर्वत क्षेत्र नं. २ को अध्यक्ष, कांग्रेस वडा समिति टकलाकको दुई कार्यकाल सचिव र गाउँपालिका कार्यसमितिमा ५ वर्ष सचिव भई संगठन हाँकिसकेका न्यौपानेले हालै सम्पन्न पालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गराएर उदाहरणीय नेतृत्व हस्तान्तरण गरेका थिए।

    बौद्धिक, प्रविधिमैत्री र तर्कशील नेताका रूपमा परिचित न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहरका बीच पनि आफ्नो वडामा कांग्रेस उम्मेदवार अर्जुन प्रसाद जोशीलाई अग्रता दिलाउन सफल भएका थिए।

    उम्मेदवारी घोषणाका क्रममा कुराकानी गर्दै उनले आफू कुनै गुट-उपगुटमा नझुकी 'सच्चा कांग्रेसको साझा उम्मेदवार' बनेको बताए। पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल (राज) खस आर्य क्लस्टरबाट उम्मेदवार बन्ने भएकाले आफूले खुला तर्फबाट दाबी गरेको र आफूहरूबीच कुनै तिक्तता नरहेको उनले स्पष्ट पारे।

    कांग्रेसभित्रको गुटबन्दी र पुराना नेताहरूको 'सिन्डिकेट' विरुद्ध आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै उनले भने, "परिवर्तित राजनीति र समयको माग अनुसार युवा नेतृत्व आवश्यक छ। क्षेत्रीय प्रतिनिधिहरूले विवेक प्रयोग गरी मेरो काम र योगदानको सही मूल्याङ्कन गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु।"

    शनिवार, आश्विन १० २०८३१०:०१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend