बैसाख ४,वालिङ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि विभिन्न पालिकाहरुमा उमेदवार चयनमा रस्साकस्सी परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमालेले सर्वस्म्मत सिफारिस गरेको छ । वालिङ नगरपालिकाको प्रमुख र उप प्रमुखका लागि नेकपा एमालेले आइतबार सर्वसम्मत उम्मेदवार टुंगो लगाएको हो ।
एमाले वालिङ नगर कमिटीको आइतबार बसेको बैठकले नगर प्रमुखमा कृष्ण खाँण र उप प्रमुखमा खगिसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।नगर प्रमुखका उमेदवार खाँड नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी जीवनदेखि नै वामपन्थी नेतृत्वमा परिचित व्यक्ति हुनुका साथै आम नागरिकहरुमा लोकप्रिय नेताकारुपमा चिनिन्छन् ।
यसैगरी उप प्रमुखका उमेदवार थापा २०७४ को स्थानीय निर्वाचनमा वालिङ नगरपालिकामा झिनो मतले पराजित नेतृ हुन् ।मेयर र उपमेयरको नाम सर्वसम्मत गरिएको नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो । मेयरको उम्मेदवारमा सिफारिस भएका खाँण एमालेको स्याङ्जा जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने उपमेयरको उम्मेदवार थापा जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
मेयरको दाबी गरेका नगर अध्यक्ष शोभाकान्त पौडेल र सचिव यामकान्त खनाल पछि हटेपछि खाँणको उम्मेदवारी सर्वसम्मत भएको हो ।