बैसाख २०,वालिङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले नेकपा एमालेले जनतालाई झुक्याउने र ढाँट्ने काम नगर्ने बताउनु भएको छ । वालिङमा जालझेलका खेति धेरै भएको उल्लेख गर्दै पूर्वमन्त्री अर्यालले आँफूले काम गर्न सक्दैन, अरुलाई दोष लगाएर जनताको जिम्मेवारीबाट उम्कने काम गरिरहेको व्यक्त गर्नुभयो ।
मङ्गलबार स्याङ्जाको वालिङमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सचिव अर्यालले अरुलाई दोष लगाएर जनताको जिम्मेवारीबाट उम्कने काम गरिरहेको कुरा वालिङवासीले राम्रोसँग बुझेको र वैशाख ३० गते कुरेर बसेको उल्लृेख गर्नुभयो । वालिङबाट अब दम्भ घमण्डको अन्त्य हने उहाँको दावी छ ।
नेकपा एमालेले के गर्छ भन्ने भनिरहन पर्दैन, सबैले देखिरहेका छन् । आज हामीसँग राष्ट्रिय दायित्वका विषयहरु छन् यसलाई स्थापित गर्नका लागि पनि नेकपा एमालेले स्थानीय निर्वाचन जित्नुपर्ने पूर्वमन्त्री अर्यालको भनाई छ । स्याङ्जामा नेकपा एमालेले जितेका पालिकाको अवस्था कस्तो छ र नेपाली काङ्ग्रेसले जितेका पालिकाको हालत के छ भन्ने हेरेमात्र पुग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो—“एमालेले जितेका ठाउँमा देखिने गरी र जनताको शीर ठाडोहुने गरी काम भएको छन् । अब हामी नेकपा एमालेले विकासको गति कसरी अगाडि बढाउँछ र समृद्धिको यात्रालाई नेकपा एमालेले कसरी चलाउछ भन्ने जनताले देख्नेगरी, भोग्नेगरी र आँखा अगाडि अनुभूत हुनेगरी देखाउन चाहन्छौं जनप्रतिनिधिहरुलाई शासक होइन सेवक बनाउन चाहन्छौ ।”
कार्यक्रममा नेकपा एकिकृत समाजवादी सम्वद्ध स्याङ्जा जिल्ला कमिटीका अध्यक्ष सन्तोष वस्ती सहित सिंगो जिल्ला कमिटी नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । योसँगै नेकपा एस पार्टीमा स्याङ्जामा अब कतिजना छन् भनेर औंलामा गन्नुपर्ने अवस्थाको सिर्जना भएको केन्द्रीय सचिव अर्यालले व्यक्त गर्नुभयो ।
हिजो संगै थियौं, केहि समय अलग रहे पनि अहिले चुनावी संघारमा भएका बेला आँफनो घर फिर्तिले विशेष अर्थ राख्ने भन्दै केन्द्रीय सचिव अर्यालले नवप्रवेशीहरुका लागि पार्टीले उचित मूल्याङ्कन गर्ने र राजनीतिक भविष्यको जिम्मा पार्टीले लिने विश्वास व्यक्त गर्नुभयो ।यसैगरी नेपाल मुश्लिम संघमा आवद्ध सैयौं मुश्लिम समुदाय नेकपा एमाले प्रवेश गरेका छन् ।
समाजसेवी जमाल अहमद अलि सहितको समूह नेकपा एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै समाजसेवी अलिले नेपाली कांग्रेसले आश्वासनमात्र दिएर झुटको खेति गरेको हुँदा पार्टीमा बसिरहन उचित नलागेर परित्याग गर्नुपरेको बताउनुभयो ।यस्तै नेपाली कांग्रेस परित्याग गरी वालिङ ८, मास्कीडाँडाका रनबहादुर मास्की सहित दर्जन युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।