काठमाडौं- प्रमुख प्रतिपक्षी दलकी सांसद पद्मा आर्यालले सरकारले मंगलबार पेश गरेको नीति तथा कार्यक्रम हावामा उडेको टिप्पणी गरेकी छन् । संघीय संसदमा जारी नीति तथा कार्यक्रममाथि छलफलमा उनले नीति तथा कार्यक्रम व्यावहारिक नभएको बताइन् ।
‘सरकारको नीति तथा कार्यक्रम यथार्थ धरातलमा उभिएको छैन । हावामा उडेको छ, जुन कुरा जनताले प्राप्त गर्न सक्दैनन्,’ उनले भनिन्, ‘सरकारले यो चुनावको वर्ष हो भन्ने हेक्का गरेन । आफूलाई कहिलेसम्मको म्यान्डेड हो पत्तै पाउन सकेन । नीति तथा कार्यक्रम प्रस्तु गर्दै गर्दा बजेटको स्रोतलाई हेक्का गर्नुपर्छ कि पर्दैन ।’
उनले देशको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा रहेको पनि टिप्पणी गरिन् ।