निरन्तरको प्रयासले नै जीवनमा सफलता मिल्छ । विश्वका कैयन व्यक्तिहरु पटक पटकको असफलतालाई पार गरेरै सफल भएका उदाहरणहरु छन् । लगनशील, दृढ सङ्कल्प,स्पष्ट दृष्टिकोणले नै मानिसलाई सफलता मिल्ने उनिहरुबाट सिक्न सकिन्छ । लडाईंमा हार पनि हुनसक्छ, त्यसलाई क्षणिक र आवेगमा गरिने प्रहार भन्दा निरन्तरको प्रयास नै जीतको उत्तम उपाय हो । प्रतिस्पर्धामा छिट्टै अगाडि गइन्छ भन्ने छैन, पछाडि पर्न पनि सकिन्छ । आँफ्नो कमजोरीलाई सुधार्दै अरु तयारी गर्दैजानुले एकदिन अवस्य लक्ष्यमा पुगिन्छ ।
हो, यसैको उदाहरण बन्नुभएको छ—वालिङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कृष्ण खाँड । जसले सामाजिक परिवर्तनका लागि गरिएका राजनीतिक प्रतिस्पर्धामा पटक पटक हार खानुपरेको थियो । तर समाज र नागरिकप्रतिको समर्पणभावलाई आत्मसाथ गरिरहनुले आज वालिङ नगरको प्रमुखमा जनताले अनुमोदित गरेका छन् ।
विद्यार्थी जीवनमा कक्षामा मनिटरिङ गर्दै नेतृत्वमा अगाडि बढ्नुभएका खाँडमा दर्जनौं सँघ संस्थाहरुमा आवद्ध रही समन्वयकारी भूमिका निभाउदै आएको अनुभव छ । यसरी नेतृत्वदायी भूमिकामा खारिँदै आउनु भएका खाँड विभिन्न आरोह अवरोह पार गर्दै नगर प्रमुखमा अनुमोदित हुनुभएको छ ।
आसन्न स्थानीय निर्वाचनमा नगर प्रमुखमा उम्मेदवारी दिएको छु, सेवककारुपमा काम गर्ने मौका दिनुस भन्दै नागरिकका घरमा पुग्दा धेरै अग्रजहरुले आँखाबाट आँशु झारेका थिए र भनेका थिए—यो अवसरलाई अवस्य उपयोग गर्नेछौं । कतिले त अवाक भएर निःशव्द मुद्रामा भाव प्रकट गरेका देखिन्थे । अग्रज अभिभावकहरुका हार्दिकताले खाँड लगायत कार्यकर्ताहरुलाई नतमस्तक पार्दथ्यो । आज तिनै नागरिकहरुले आफ्नो मनलाई मतमा परिणत गरेर उहाँलाई नगर प्रमुखको जिम्मेवारी सुुम्पेका छन् ।
सानो उमेरदेखि नै अरुको दुःखमा साथ दिने, कुनैपनि विषयमा स्पष्ट धारणा राख्ने र सादा जीवन उच्च विचार खाँडको विशेषता हो । आँफ्नो व्यक्तिगत जीवनभन्दा जनसेवालाई सर्वोपरी ठान्नुले धेरैको साथ मिलेको सिधै अनुमान गर्न सकिन्छ ।
बुढापाकादेखि बालबालिकाहरुको मनमष्तिकमा रहनुभएका खांँण विद्यार्थी जीवनदेखि नै बामपन्थी राजनीतिमा सक्रीय एक सच्चा समाजसेवककारुपमा चिनिनुहुन्छ । सानालाई माथि उकास्नु र ठूलालाई सम्मान दिनु उहाँको प्राथमिकताको विषय हो । औपचारिक शिक्षामा स्नातकोत्तर गर्नुकासाथै स्वअध्ययनलाई पनि उत्तिकै महत्वदिनु खाँडको अर्को महत्वपूर्ण गुण हो ।
पेशाको हकमा ७ वर्षसम्म वालिङ १० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा पढाउने काम गर्नुभएका खांँडले २७ वर्षको उमेरमै २०५४ सालको स्थानीय तह निर्वाचनमा वालिङ नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धामा होमिनुभयो । त्यतिबेला थोरै मतले उपविजेतामा चित्त बुझाउनुप¥यो । प्राप्त परिणामबाट विचलित नभई निरन्तर राजनीति र समाजसेवामा सक्रीय रहँदै आउनुले उहाँप्रतिको जनविश्वास गहिरिँदै आयो ।
२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेका स्वर्गीय कमल पङ्गेनीसँग पुनः प्रतिस्पर्धामा उत्रिनुभयो । त्यतिबेला पनि थोरै मतान्तरले पराजित हुनुप¥यो । मतपरिणाम आँफ्नो पक्षमा आउन नसकेपनि साँगठनिक गतिविधिलाई अझ सुदृढ र शसक्त पार्दै अगाडि बढिरहनु उहाँको सफलताको राज हो भन्दा अत्युक्ति नहोला ।
विश्वव्यापिरुमा फैलिएको कोभिड १९ द्वारा सृजित परिस्थिति तथा अन्य प्राकृतिक प्रकोपका बेला काँधमा काँध मिलाउँदै नागरिकको दुःखमा मल्हम लगाउन तत्काल उपस्थित भैहाल्ने उहाँको सहयोगी भूमिका नागरिकहरुकाबीच लोकप्रिय छ ।
यसैगरी २०६२÷०६३ को तत्कालित माओवादी युद्धका बेला सुरक्षा र माओवादीको दोहोरो पिडा खेप्दै र दुवैपक्षलाई सहयोग गर्दै क्षतिहुन बाट जोगाउन अहम भूमिका खेल्नुले पनि ठूलो अर्थ राखेको छ ।
अहिले आएर आसन्न स्थानीय निर्वाचनबाट वालिङका निवर्तमान प्रमुखसमेत रहनुभएका दिलीपप्रताप खाँडलाई भारीमतले पछि पार्दै निर्वाचित हुनुमा अवस्य पनि जनताबाट उहाँको उच्च कदर गरिएको सहजै बुझ्न सकिन्छ । योसँगै २०४८ सालदेखि काङ्ग्रेसले राज गर्दै आएको वालिङमा नेकपा एमालेले स्थानीय तह सम्हाल्ने अवसर प्राप्त गरेको छ ।
गत सोमबार भएको पदस्थापनसँगै जिम्मेवारी बहन गर्ने समय सुरु भएको छ । पदस्थापनसँगै नगर प्रमुख खाँडले वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा एकवर्षभित्र सुत्केरी महिलाहरुका लागि थप सुविधायुक्त बनाउने र ग्रामिण सडकको स्तरोन्नति गर्ने निर्णयसहित जिम्मेवारीको थालनी गर्नुभएको छ ।
जिम्मेवारी सहित अबको पाँचवर्षको कार्यकाल पूरा गर्न अवसरसँगै चुनौतिहरु पनि उत्तिकै छन् तर जस्तोसुकै अवस्था आइपरे पनि डटेर सामना गर्ने विगतका घटनाक्रम र उहाँको क्षमताले पुष्टी गरिसकेको छ ।
उहाँ भन्नुहुन्छ “जन प्रतिनिधीहरु शासन गर्न नभएर, सेवाका लागि जनताले चुनेको हुन् । जनताहरु मालिक र जन प्रतिनिधीहरुले सेवा गर्ने भरिया हौं भन्ने सोंच राख्नुपर्छ । हामी जुनसुकै पार्टीबाट उम्मेदवारी दिएर चुनिएका भएपनि नगरवासीको साझा सेवक भएर काम गर्नुपर्छ । यसका साथै व्यक्तिगत जीवन र पार्टीभन्दा माथि उठेर सेवामा लाग्नुपर्छ,” ।यसकारण पनि वालिङवासी आमनागरिकहरुमा आशा र भरोसा जगाएको छ ।