Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमालेको विरोधबीच प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

एमालेको विरोधबीच प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

  • PNN Times
  • शुक्रवार, आषाढ २४ २०७९


  • काठमाडौँ - सरकारले शुक्रबार प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५' लाई फिर्ता लिने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । 

    विधेयक फिर्ता लिने प्रस्तावको एमालेले विरोध गरेको छ । विधेयक फिर्ता लिने प्रस्तावको विरोधमा एमालेले विरोध सूचना दिएको थियो । बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले विगतमा केपी ‌ओलीले सरकारले सबैले नागरिकता पाउन् भनेर नागिरकता विधेयक ल्याएको तर महिनौैं अड्काएर राखेको बताए । संसदीय प्रणालीमाथि चुनौती दिने गरी विधेयक फिर्ता लिइएको आरोप लगाए । उनले संसद र संसदीय समितिले गरेको लगानी खेर गएको बताए ।'यो घटनाको एमाले गम्भीर आपत्ति जनाउँछ' उनले भने,'जनताले नागरिकता प्राप्त गर्ने हक कुण्ठित नगरियोस् ।' 

    images

    यसअघि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सरकारले प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको हो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

    विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो । सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णयमा सरकार पुगेको हो । नागरिकता विधेयक फिर्ता भएसँगै उक्त विधेयकमा राज्यले गरेको लगानी र समय खेर गएको संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

    राज्य व्यवस्था समितिबाट पारित प्रतिवेदनमा सत्तारूढ दलभित्रै सहमति जुट्न नसकेपछि सरकारले फेरि नयाँ विधेयक दर्ता गरेर प्रक्रिया अघि बढाउन लागेको छ । नयाँ विधेयकमा वैवाहिक अंगीकृतको विषय थाती राख्ने र जन्मसिद्ध नागरिकता लिएका दम्पतीका सन्तानलाई नागरिकता दिने बाटो मात्र खुलाउने प्रावधान रहने स्रोतले जनाएको छ । 

    शुक्रवार, आषाढ २४ २०७९०८:४३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend