श्रावण २०,वालिङ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले राष्ट्रले खोज्ने मान्छे भएर जीवन सार्थक बनाउनुपर्ने बताउनु भएको छ । शुक्रबार स्याङ्जाको वालिङमा आयोजना गरिएको एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ तथा सम्मान कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनु भएकि सचिव अर्यालले राष्ट्रलाई चाहिने र राष्ट्रले खोज्ने मान्छे बन्न सकियो भने जीवन सार्थक हुने बताउनुभएको हो ।पास गर्नका लागि किताव पढ्ने र जीवन बदल्नका लागि बाहिरी अध्ययन गरेर ज्ञान बढाउनुपर्ने भन्दै अध्ययनको दायरा फराकिलो बनाउन सचिव अर्यालले आग्रह गर्नभयो ।उमेर बढ्दै गएपछि हामीले आफ्ना सिर्जनाहरुलाई ठीक ढङ्गले प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।
सिर्जनशिलताको विकास, प्रयोग र उन्नति प्रगति गर्ने उमेर युवावस्था भएको उल्लेख गर्दै सचिव अर्यालले ठुला ठुला अर्थशास्त्री, भूगोलविद, दार्शनिक र राजनीतिज्ञहरु युवावस्थामै बनेको दृष्टान्त व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो—जीवनलाई सार्थक बनाउने चीज भनेको तपाई जुन क्षेत्रमा उभिनुहुन्छ, जुन क्षेत्रमा हात हाल्नुहुन्छ त्यो क्षेत्रमा लागेर राष्ट्रले खोज्ने मान्छे बन्नुभयो भने जीवन सार्थक हुन्छ ।आजको समाज पहिला भन्दा धेरै परिवर्तन भएको उल्लेख गर्दै सचिव अर्यालले हाम्रा अग्रजहरुले सामना गरेका चुनौति र अहिलेको चुनौति धेरै फरक रहेको व्यक्त गर्नुभयो ।
आजको प्रतिस्पर्धा विश्वको प्रतिस्पर्धा हो । पहिला सैद्धान्तिक अध्ययनले मात्र पुग्थ्यो भने अहिले प्रयोगात्मक शिक्षाको समय हो, सचिव अर्यालले भन्नुभयो ।
सचिव अर्यालले जमाना फेरिएको छ, विकाससँगै अनेक खालका चनौतिहरु हाम्रा सामु आइपरेको बताउनुभयो । समयले ल्याएको चुनौतिहरु सामना गर्नसक्ने सामथ्र्यको विकास गर्नुपर्ने उहाँको भनाई छ । आँफूलाई परिस्कृत गर्दै हरेक क्षेत्रका ज्ञान आर्जन गर्न सचिव अर्यालले आग्रह गर्नुभयो ।
राजनीति कलेज गएर पढ्ने विषय होइन भन्दै सचिव अर्यालले राजनीति स्वअध्ययन गर्ने विषय भएको बताउनुभयो ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन स्याङ्जाद्वारा आयोजित कार्यक्रममा जिल्लाभरिबाट एसइइमा उत्तीर्ण झण्डै ३ सय विद्यार्थीलाई बधाइ तथा सम्मान गरिएको हो ।