भदौ १, स्याङ्जा । नेकपा एमाले केन्द्रीय कमिटि सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले परमादेशबाट बनेको सरकारले देशलाई निकास दिन नसकेको बताउनुभएको छ । मंगलबार वालिङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले सचिव अर्यालले गठबन्धन सरकार सत्ता मोहमा लिप्त भएका कारण देशमा बढिरहेको महंगी र बेथितिलाई नियन्त्रण गर्न नसकेको बताउनुभएको हो ।
एमाले वालिङ नगरकमिटिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमका अवसरमा सचिव अर्यालले गठबन्धनले नेकपा एमालेलाई कुनै असर गर्न नसक्ने दावी गर्नुभयो । पार्टीको कार्यभार बुझेर अगाडि बढेमा आगामी प्रदेश र संघीय निर्वाचनमा दुईतिहाई मत ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘गठबन्धनको सरकार आफ्नो दलीय स्वार्थमा मात्रै लिप्त छ । आम नागरिकको समस्या बुझ्न र आवश्यक कदम चाल्न सकेन । तसर्थ आगामी निर्वाचनमा जनताले एमालेलाई नै चुन्नेछन् ।’
कार्यक्रममा एमाले केन्द्रीय कमिटि सदस्य किशोरविक्राम मल्लले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले सचिव अर्यालले वर्तमान राजनितिक परिस्थिति र एमालेले अगाडि सारेको कार्यभारका विषयमा प्रशिक्षण दिनुभएको थियो भने गण्डकी प्रदेशका उपाध्यक्ष एवं सांसद मोहन रेग्मीले पार्टी र जनप्रतिनिधि बीचको सम्बन्ध र आगामी निर्वाचनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वालिङ ६ धनुबाँसका पूर्णबहादुर थापासहित दुई दर्जन भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।