असोज २६ , आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि स्याङ्जाको दुईवटा क्षेत्रबाट गरी ७ जनाले आ—आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुइवटा क्षेत्र रहेको स्याङ्जाका ४ वटा प्रदेशमा उमेद्वारी दिएकामध्ये ७ जनाले आ—आफ्नो उमेदवारी फिर्ता लिएका हुन् ।
जिल्लाको क्षेत्र नंवर १ को प्रदेश (क) मा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका मेखलाल श्रेष्ठले फिर्ता लिनुभएको छ ।
यस प्रदेश सभामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अमृता थापा मगरको उम्मेदवारी रहेको छ । लामो छलफल र सहमतिपछि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको हो । उहाँलाई पार्टी सभापित शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिनका लागि पत्र पठाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसबाट बागी उम्मेदवारी दिनुभएका गोविन्दबहादुर रानाभाट र एकीकृत समाजवादीका विष्णु गिरीले पनि फिर्ता लिएका छन् । यस्तै स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएका अर्जुन पौडेल र मनोज नेपालीले पनि फिर्ता लिएका छन् ।
यस्तै समाजवादीका तर्फबाट स्याङ्जा १ (ख) मा उम्मेदवार दिनुभएकी शर्मिला देवी पौडेलले पनि फिर्ता लिनुभएको छ ।
स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट बागी उम्मेदवारी दिनुभएका कपिलदेव न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । यस क्षेत्रबाट एमालेले पद्मा अर्याललाई टिकट दिएको छ ।
यस्तै स्याङ्जा क्षेत्र नम्वर २ (क) मा गठबन्धनका विरुद्ध कांग्रेसका भोजराज अर्यालको उम्मेदवारी परेको छ । यो प्रदेशमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामचन्द्र भट्टराईको उम्मेदवारी परेको छ ।