असोज ३१,वालिङ । नेकपा एमालेकी सचिव तथा स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेद्वार पद्मा अर्यालले चुनाव जित्नुमात्र निर्वाचनको सार्थकता नभएको बताउनुभएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटिले सोमबार वालिङमा आयोजना गरेको बृहत युवा भेला कार्यक्रमलाइ सम्बोधन गर्दै एमाले सचिव अर्यालले चुनावले नागरिकको समस्या समाधान गर्न सक्ने नेतृत्व चयन गर्न सक्नुपर्ने बताउनुभएको हो ।

पछिल्लो चरणमा राजनैतिक संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै अर्यालले नेता र नेतृत्वले नागरिकको समृद्धिको लागि काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।चुनाव लक्षित विषयमा बोल्दै सचिब अर्यालले न्यायालयको सहारामा बनेको सरकारले दुई वर्षमा गरेको कुनै एउटै मात्र पनि नागरिकको लागि गरेको काम कुन छ ? प्रश्न गर्नुभयो ।परमादेशको सरकारले नागरिकतालाई किराना पसलमा पाइने सामान जसरी बेच्न लागेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।स्याङ्जाको बिकासको लागि एमालेको कार्यकालमा छ अर्ब रुपैयाको बजेट बिनियोजन गरेको स्मरण गर्दै उहाँले अझै पनि बिपक्षीले एमालेले केही गरेन भन्ने लज्जास्पद टिप्पणी गरेको उल्लेख गर्नुभयो ।

आफुले नेपालको अतिक्रमित भुमिलाई नक्सामा समेटेर गरिमा वृद्धि गरेकोप्रती गर्व गरेर सबैको मिलेमतोमा देश बचाउन लाग्नुपर्नेमा देशको स्वाभिमानमा आँच आउने गरी सामाजिक सञ्जालमा नक्साप्रति अशोभनिय बिचार छरपस्ट पारेकोमा आपत्ती जनाउनुभयो ।एमालेको काम र जनताप्रतिको अटुट बिस्वास देखेर न्यायालयलाई कब्जामा पारेर सरकार बनाए पनि गठबन्धनको सरकारले महङ्गी वृद्धि,सीमा विवाद बल्झाउने, नागरिकलाई आर्थिक भार बोकाउने लगायतका जनविरोधी काममात्र गरेको ठोकुवा गर्नुभयो । भौतिक निर्माण मात्र विकासको आधार नभएको उल्लेख गर्दै उहाँले युवाहरुलाई रोजगार,नागरिकका आधारभुत आवश्यकताहरुको सहज र सर्वसुलभ उपलब्धता, शिक्षा,स्वास्थ्य लगायतको प्रत्याभूति गराउन एमालेले नयाँ योजना बनाएको उल्लेख गर्नुभयो ।
गठबन्धनले आफ्ना कुनै योजना नभएकोले एमालेका गतिविधिहरुलाई निगरानी गर्दै गलत व्याख्या गरेको सचिव अर्यालको आरोप छ ।
सचिव अर्यालले एमालेको सरकारले गरेका समृद्धिका कामहरु नागरिक माझ जानू आवश्यक रहेको उल्लेख गर्नुभयो ।