कार्तिक २१,स्याङ्जा ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हीतका निम्ति एमालेको सरकार चाहिएको बताउनु भएको छ । अध्यक्ष ओलीले देशको रक्षा गर्दै विकास र लोकतन्त्रको सुदृढीका लागि एमालेको सरकार आवस्यक रहेको बताउनु भएको हो ।
सोमबार स्याङ्जा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई विकासको अभियानमा अगाडि बढाउन सक्ने र जनताको हीतमा काम गर्ने सरकार चाहिएको धारणा राख्नुभयो । बालबालिकादेखि जेष्ठ नागरिक हेर्ने नेकपा एमाले भएको आम नागरिकले अनुभूत गरिसकेको उल्लेख गर्दै उहाँले मंसिर ४ गतेको निर्वाचनबाट बहुमतका साथ सरकार बनाउन जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।आसन्न निर्वाचन देशको भविष्य फैसला गर्ने निर्वाचन रहेको समेत अध्यक्ष ओलीको भनाई छ ।

उहाँले मंसिर ४ गतेको निर्वाचनले देशको भविष्य उल्यालोतिर लाने कि अध्यारोतिर जैजाने भन्ने तय गर्ने उल्लेख गर्नुभयो ।डडेलधुरा पुगेर कांग्रेसका सभापति तथा प्रधानमन्त्री सेरबहादुर देउवाले बोलेर मात्र जग्गा फिर्ता हुँदैन भन्ने अभिव्यक्तिको जवाफ दिदै अध्यक्ष ओलीले बन्दुकबाट होइन, वार्ता, सम्वाद र प्रमाणका आधारमा नेपालको भूमि आफ्नो बनाएरै छाड्ने दावी गर्नुभयो ।

उहाँले गठवन्धनलाई सातुको डल्लोको संज्ञा दिदै कतिबेला फुट्छ भन्ने थाह नभएको उल्लेख गर्नुभयो । नेकपा एमालेले गुण्डागर्दी गर्दैन तर गुण्डागर्दीसँग नझुक्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले गठवन्धन यो देशको पिलोलाई आसन्न निर्वाचनले फाल्नुपर्ने व्यक्त गर्नुभयो ।२०७४ को निर्वाचनबाट स्याङ्जाले दुवै क्षेत्रबाट एमालेका उम्मेदवारलाई जिताएर बहुमतको सरकार बनाउने मौका दिएकाले यस पटक पनि जनताले सूर्य चिन्हमा मतदान गर्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो । उहाँले सडकमा गाउँदै र नाच्दै हिड्ने होइन जनताको घर घरमा पुगेर मत माग्न नेता तथा उम्मेदवारहरुलाई सुझाव दिनुभयो ।