कार्तिक २१, वालिङ ।नेकपा एमालेका सचिव पद्मा अर्यालले राष्ट्रियता र स्वाभिमानको पक्षमा काम गर्ने नेकपा एमाले भएको बताउनु भएको छ । भारतको कव्जामा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूमि समेटिएको चुच्चे नक्सा जारी गरेर एमालेले राष्ट्रियता र स्वाभिमानको लागि सतिसालकोरुपमा काम गरेको नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले बताउनुभएको हो ।लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्ने आँट अरु कुनै सरकारको नरहेको भन्दै यो सम्भव एमालेको सरकारको पालामा भएको स्पष्ट पार्नुभयो ।
यही मंसिर ४ गतेहुने निर्वाचनमा स्याङ्जा क्षेत्र नम्वर २ मा एमालेको उम्मेदवारसमेत रहनु भएकी अर्यालले सोमबार जिल्ला सदरमुकाम स्याङ्जामा आयोजित चुनावीसभामा सम्वोधन गर्दै २०७४ को निर्वाचनपछि केपी ओलीको नेतृत्वमा बनेको सरकारले विगत ३० वर्षमा नभएको विकास साढे तीनवर्षमा गरेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो “आफ्नै श्रोत र साधनको प्रयोग गरेर सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन सम्पन्न आँफू मन्त्रालय सम्हालेका बेलामा भएको छ । रेल सञ्चालन, पानी जहाज लगायत राष्ट्रिय गौरवका योजनाहरु कतिपय सम्पन्न भैसकेका छन् भने केहि पूरा हुने अवस्थामा रहेका छन् । यसका साथै सुरुङमार्गको थालनी पनि एमालेकै नेतृत्वमा रहेको सरकारले गरेको हो ।”एमालेको सरकारका पालामा महत्त्वपूर्ण ऐतिहासिक काम भएको भन्दै सचिव अर्यालले रेल र पानी जहाजका कुरा गर्दा प्रतिपक्षीले उडाएको तर अहिले त्यो सम्भव भएको बताउनुभयो ।
सचिव अर्यालले आँफूले मन्त्रालय सम्हालेका बेला सडक, पुल, खानेपानी, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको जनतासामु स्पष्ट भएको दावी गर्नुभयो । उहाँले आँफू मन्त्री भएका समयमा विभिन्न शिर्षकमा छुट्याइएका विकास बजेट गठवन्धन सरकारले व्यापकरुपमा कटौती गरेर जनविरोधी काम गरेको आरोप लगाउनुभयो । यसका साथै पोखरादेखि सुनौलीसम्मको सिद्धार्थ राजमार्गका लागि छुट्याइएको ७ अर्व बजेट अहिले कहाँ गयो ? भनी सचिव अर्यालले प्रश्न गर्नुभयो ।
विपक्षीहरुले आँफू लगायत एमालेका नेताहरुलाई भ्रष्टाचारको आरोपका शव्द बोल्ने गरेको उल्लेख गर्दै कहिँ कतै त्यस्तो पाइएमा प्रमाणित गरेर कठघरामा उभ्याउन चुनौति दिनुभयो । झुटको खेति गरेर कसैको चरित्र हत्या गर्ने छुट कसैलाई नभएको उहाँको भनाई छ । यस्ता मिथ्या कुरा गर्दै हिड्नु हारको मानसिकता भएको सचिव अर्यालले उल्लेख गर्नुभयो ।
तपाईहरुले देख्नुभएकै छ, भोग्नुभएकै छ कि नेकपा एमालेले जहिले पनि जनताको हीतमा काम गर्छ । राष्ट्र, राष्ट्रियता र स्वामिानको पक्षमा काम गर्छ । त्यसैले ढुक्क भएर मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सचिव अर्यालले आग्रह गर्नुभयो ।निर्वाचन आयोगले चुनाबी प्रचार प्रसारलाई १८ गतेबाट खुल्ला गरेसँगै शिर्ष नेताहरुको चुनावीसभा सुरु भएको हो ।
२ निर्वाचन क्षेत्र भएको स्याङ्जामा क्षेत्र नं १ मा गठबन्धन सहितको नेपाली काँग्रेसका राजु थापा र नेकपा एमालेका नारायण प्रसाद मरासिनी बीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै ,क्षेत्र नं २ मा एमालेका सचिब अर्याल र नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ बीच प्रतिस्पर्धा हुँदैछ । स्याङ्जामा २ लाख ४४ हजार मतादाताले मताधिकार प्रयोग गर्दैछन् ।