कार्तिक २७,वालिङ । स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पद्मा अर्यालले जनताको पक्षमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार वालिङ १ र ११ जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रममा सहभागी हुँदै पूर्व मन्त्री समेत रहनु भएकी अर्यालले जनताको पक्षमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
नेकपा एमालेका केन्द्रीय कमिटि सचिव तथा पुर्व मन्त्री अर्यालले शनिबार वालिङ १ र ११ नंं. वडाका विभिन्न स्थानहरुमा घरदैलोसहित गरिएको कोणसभामा सरिकहुँदै हिँजो आँफू मन्त्रालयको जिम्मेवारीमा हुँदा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक तथा भौतिक पुर्वाधार विकासका क्षेत्रमा काम गरेको उल्लेख गर्नुभयो । उहाँले युवा स्वरोजगार, कृषि लगायतलाई प्राथमिकता दिएको स्मरण गर्दै त्यस्ता योजनाहरुलाई दीर्घकालिन बनाउनका लागि यसपटक पनि फेरि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्याङ्जाका विभिन्न स्थानहरुमा नागरिकसंँग प्रत्येक्ष जोडिएका योजनाहरु ल्याएको हुँ । ती योजनालाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न नागरिकले चाहनुभएका अपुग र अधुरा कार्यहरुलाई पूरा गर्न फेरि पनि यहाँहरुको साथ र सहयोग आवश्यक छ ।” जिल्लाको विकासका लागि छुट्याईएका बजेट गठबन्धनको सरकार आएपछि कटौती गरिदिएको भन्दै विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई उहाँले आग्रह गर्नुभयो ।