कार्तिक २९,वालिङ ।मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि प्रचार प्रसारको समय अब दुईदिन बाँकी छ । राजनीतिक दल तथा दलका नेता कार्यकर्ताहरु मतदाता भेटघाटमा घनिभूतरुपमा लागिरहेका छन् । यसैबीच स्याङ्जा क्षेत्र नम्वर २ मा नेकपा एमालेका उम्मेदवारहरु गाउँ र टोल टोलमा पुगी मतदाताहरुसँग भेटघाटमा व्यस्त छन् । मङ्गलबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेश क का उम्मेदवार मोहन रेग्मी लगायत नेता कार्यकर्ताहरु वालिङ नगरपालिका १४ र भीरकोट ९ सिरकोट तथा साउन्दीका मतदातासँग भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले कसैको भ्रममा नपरी सूर्य चिन्हमा भोट दिएर नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।
अर्यालले आँफू लगायत नेकपा एमालेका उम्मेदवारहरुलाई विभिन्न आरोप लगाई भ्रम सिर्जना गर्ने केही झुण्डहरु सामाजिक सञ्जालमा क्रियाशिल भएकाले भ्रममा नपरी ढुक्कसँग सूर्य चिन्हमा मत दिन आग्रह गर्नुभएको हो ।उहाँले भन्नुभयो—“कसैको लोभ लालच र प्रलोभनमा नपर्नुहोस् । तपाईहरुको मनलाई मतमा परिणत गर्नुहोस्, एक एक मतलाई दुरुपयोग गर्ने छैन, यो मेरो प्रकितवद्धता हो ।”आँफु नगर्ने र गरेको देखि नसहनेहरु आरोप मात्र लगाउँछन् भन्दै सचिव अर्यालले त्यस्ता तत्वबाट सतर्क रहनुपर्ने बताउनुभयो । योजना ल्याउन र काम गर्न नसक्नेहरु अरुलाई आरोप लगाउन मात्रै जानेका हुन्छन् । त्यस्ता व्यक्तिहरु मन गढन्ते आरोप र भ्रामक कुरा जनतालाई झुक्याउने खेलमा लाग्ने अर्यालले व्यक्त गर्नुभयो ।आँफू मन्त्रालयको जिम्मेवारीमा रहँदा शिक्षा, स्वास्थ्य, कृषि र बाटोघाटो निर्माणका क्षेत्रमा काम गरेको जनताकाबीचमा स्पष्ट रहेको उल्लेख गर्दै अर्यालले केहि पूरा भएका र केहि अधुरा रहेको बताउनुभयो । ती अधुरा र आँफूले थालनी गरेका योजनाहरुलाई निरन्तरता दिनका लागि पनि यस पटक आँफ्नो उम्मेवारी रहेको उहाँको भनाई छ ।उहाँले भन्नुभयो–“नेकपा एमालेको नेतृत्वमा भएको सरकारले विभिन्न योजनाहरुमा छुट्याएका बजेट गठवन्धन सरकारले कटौती गरेर अलपत्र पारेको छ । जनतालाई महङ्गीको मारमा पारेर आकुल व्याकुल बनाएको छ ।
राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सरोकार नराख्ने गठवन्धनबाट मुक्त हुन जरुरी छ । त्यसैले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयमा काम गरी भविष्य निर्माणका लागि एमालेको सरकार आवस्यक छ ।”कार्यक्रममा प्रदेश क का उम्मेदवार रेग्मीले एमालेले गरेका कामलाई ओझेल पार्न गठवन्धन सरकारले बजेट कटौति गरेको बताउनुभयो । गठवन्धनका नेताहरु हारको मानसिकताले ग्रसित भएर तथानाम बोल्ने गरेको उहाँको भनाई छ ।पूर्वाधार विकासका साथै युवाहरुका पक्षमा नेकपा एमालेले चासो र सम्वोधन गर्दै आएको रेग्मीको दावी छ । सोच्ने, मूल्याङ्कन गर्ने र विश्लेषणात्मक निश्कर्ष निकाल्ने क्षमता सिर्जनशील युवाहरुमा हुन्छ, तथ्यमा विश्वास गरेर एमालेको पक्षमा उभिने रेग्मीले व्यक्त गर्नुभयो ।