फागुन १८, पर्वत । नेकपा एमालेको मिसन ग्रास रुट अभियान पर्वतको पैयूँ गाउँपालिकामा शुरु भएको छ । नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य तथा जिल्ला अध्यक्ष,सदस्यहरुको सहभागितामा अभियान शुरुवात गरिएको हो ।
मिसन ग्रास रुट कार्यक्रमका लागि केन्द्रीय कमिटीका सदस्य सुर्य पाठकको नेतृत्वमा प्रदेश कमिटी तथा जिल्ला कमिटीबाट खटिएका नेताहरुको सहभागितामा पैयूँका सात वटै वडा तथा टोलस्तरमा पुग्नका लागि योजना निर्माण गरिएको छ । पैयूँ गाउँ कमिटीका उपाध्यक्ष विष्णु काफ्लेको अध्यक्षतामा शुरु भएको अभियान तथा प्रशिक्षण कार्यक्रमले योजना निर्माण गरेको हो ।
पैयूँ गाउँपालिकामा केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीबाट नेतृत्व खटाइएको छ । यस्तै गाउँ कमिटीका पदाधिकारी तथा सचिवालय एवं सदस्यहरुलाई टोलस्तरमा खट्नका लागि जिम्मेवारी तोकिएको नेकपा एमाले पर्वत जिल्ला कमिटी अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय कमिटीका सदस्य सुर्य पाठकले पार्टीले अघि सारेको कार्यक्रम संगठन विस्तारको अवसर भएको बताउनुभयो । पार्टीलाई बलियो बनाउन केन्द्रीय कमिटीले शुरु गरेको अभियानलाई बस्तीस्तरका सम्पूर्ण घर घरमा पुर्याउन पाठकले आग्रह गर्नुभयो ।
यस्तै प्रदेश कमिटी सचिवालय सदस्य देवेन्द्र पाण्डे,जिल्ला कमिटी अध्यक्ष राजु पौडेल, जिल्ला कमिटी उप–सचिव शिव पौडेल, जिल्ला कमिटी सदस्य याम कुमारी राना,पालिका कमिटी उपाध्यक्ष विष्णु काफ्ले लगायतले पार्टीको अभियान र पार्टी सुदृढीकरणबारे बोल्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा गाउँ कमिटीका पदाधिकारी, सदस्य, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । बैशाख ९ गतेसम्म चल्ने अभियानमा सबै नेताहरुलाई कार्यक्षेत्रमा खटाइएको छ ।

