चैत २३, वालिङ
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले पार्टी समृद्धिको पक्षमा सङ्कल्पित रहेको बताउनुभएको छ । शुक्रबार स्याङ्जामा पार्टीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री ओलीले नयाँ सत्ता समिकरणले देशलाई निकास दिने दावी गर्नुभयो । उहाँले भन्नुभयो,“ पाँच दलीय गठबन्धनले देशमा बेथिति र भ्रष्ट्राचारतर्फ धकेलेको थियो । देशलाई सहि दिसामा लैजान हामीले सत्ता समीकरण गरेका हौँ ।”
देशमा सुशासन, समृद्धिका लागि एमाले सरकारमा आउनुपर्ने अवस्था सिर्जना भएको भन्दै देशमा व्याप्त अराजकता, उच्छृङ्कल गतिविधिलाई अन्त्य गर्न एमाले प्रतिवद्ध रहेको उहाँको भनाई थियो । देश बचाउने पार्टी एक मात्र नेकपा एमाले हो, त्यसैले एमाले पार्टीलाई निर्णायक पार्टी बनाउने उहाँले उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिक, एकल महिला तथा बालिकाहरुको हितमा र समग्र राष्ट्रको हितमा कामगर्ने पार्टी एमाले हो र अन्य कुनै पार्टीले यस्तो काम नगरेको अध्यक्ष ओलीले औंल्याउनुभयो ।
साथै उहाँले मनदेखि नै बामपन्थी नहुँदा दुई तिहाई प्राप्त गरेको नेकपाबाट पछि हट्नुपर्ने अवस्था भएको स्मरण गर्नुभयो । कम्युनिष्ट एक हुनुपर्छ भन्ने मान्यताले पार्टी एकता गरेर अगाडि बढेपनि स्वार्थले भरिएका मनमा बामपन्थी नभएकाका कारण एमाले पछाडि हटेको उहाँको भनाई थियो ।
नेकपा एमालेका सचिव पद्मा अर्यालले बिकासको बाधक राजनीतिक अस्थिरता भएको भन्दै स्थिरताको लागि मिसन ८४ महत्वपूर्ण रहेको बताउनुभयो । एमाले मिसन ८४मा केन्द्रित रहेको र निर्वाचनमा एमालेलाई शक्तिशाली पार्टीकोरुपमा स्थापित गर्न नेता कार्यकर्ता सुदृढ हुनुपर्नेमा जोड दिनुभयो । साथै एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले देशले आर्थिक सामाजिक र सांस्कृतिक विकासका लागि नेकपा एमालेले जित्न र सरकारको नेतृत्व गर्न आवस्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । यसैगरी भित्तेपात्रो विमोचन एवम् सम्मान कार्यक्रमसमेत गरिएको थियो ।