मंसिर १८, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले योजना सम्झौता, बैंक खाता र भुक्तानी अब वडा कार्यालयबाटै गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन हुने आयोजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने, वडा कार्यालयमै बैंक खाता खोल्ने र भुक्तानी प्रक्रिया पनि वडा कार्यालयबाटै सम्पन्न गर्ने नीति लागू गरेको छ।
नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीका अनुसार, यस नीतिअन्तर्गत वडा नं. १० बाट यो कार्य सुरु गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट सहितको कर्मचारीहरूको टिमले बैंकका प्रतिनिधिहरूसँग मिलेर योजना सम्झौता र बैंक खाता खोल्ने कार्य वडा कार्यालयबाटै गरेका छन्।
“यस कदमले नगरका वडाहरुमा सेवा प्रवाहलाई सहज बनाउँदै नागरिकलाई केन्द्रसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त गराउने लक्ष्य लिएको ” नगर प्रमुख जोशीले बताउनुभयो।
यो नीतिलाई क्रमशः आगामी वर्षहरुमा पनि निरन्तरता दिदै सबै वडामा समान सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।
