काठमाण्डौं, २४ कार्तिक। दक्षिण अफ्रिकाको प्रिटोरिया स्थित नेपाली दूतावासमा चोरी भएको छ। चोरी आइतबार राति भएको हुन सक्ने जानकारी दूतावासले दिएको छ।
दूतावासको कार्यालय शुक्रबार बन्द गरी कर्मचारीहरू आवासतर्फ फर्किएको र शनिबार तथा आइतबार सार्वजनिक बिदा परेकाले सोही अवधिमा चोरी भएको अनुमान गरिएको दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत कपिल श्रेष्ठले बताए।
राजदूत श्रेष्ठका अनुसार दूतावासबाट ल्यापटप, क्यामेरा, सीपीयू, टेलिभिजन लगायतका सामग्री चोरी भएको छ। चोरहरूले दूतावास परिसरमै पार्क गरेर राखेकाे सवारीमा सामान राखेर लगेको र करिब २० किलोमिटर टाढा गएर गाडी छाडेर फरार भएको दूतावासले जनाएको छ।
“सामान धेरै नलगे पनि दूतावास जस्तो संवेदनशील स्थानबाट चोरी हुनु नै ठूलो कुरा हो,” राजदूत श्रेष्ठले भने। चोरी भइरहेको समयमा दूतावासभित्र जडान गरिएका सिसिटिभी क्यामेरा नचलेकाे तथा वरिपरि राखिएको सुरक्षा साइरन पनि नबजेको राजदूत श्रेष्ठले जानकारी दिए।
यस विषयमा प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढिरहेको दूतावासले जनाएको छ।