वालिङ, १० पुस ।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसार्इँले नागरिकलाई निर्वाचन होइन जनमत संग्रह आवश्यक रहेकोे बताउनुभएको छ । विहिबार स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै प्रसाइँले नागरिकलाई निर्वाचन होइन जनमत संग्रह आवश्यक भएकोे बताउनुभएको हो ।
दल, जातजाती, धर्म भन्दा देश ठूलो भएको भन्दै देशलाई बचाउने महाअभियानको अभिभारा बोकेर आँफू अगाडि बढेको उल्लेख गर्नुभयो । नेपाल जस्तो देशले संघीय प्रणाली थेग्न नसक्ने र यो व्यवस्था फेल भईसकेको प्रसाईँको भनाई थियो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाले सर्वहारा नागरिकलाई बाँच्न दिएको छैन् । कर र विभिन्न बहानामा नागरिकसंँग पैसा असुल्ने र मर्न बाध्य बनाउने परिस्थिति सिर्जना गरिएको छ । यसका लागि नागरिक बचाउ महाअभियानको स्थापना गरिएको हो ।” नागरिकले बैंक तथा वित्तीय संस्थासंँग लिएको ऋण तिनुपर्छ तर सर्वहारा जो तीर्न नसक्ने अवस्थामा छन्, त्यस्तालाई मिनाहा गर्नुपर्ने आफ्नो अभियानको माग रहेको प्रसार्इँले औंल्याउनुभयो ।
जेनजी आन्दोलनको प्रसंँग उल्लेख गर्दै प्रसाईँले भदौ २४ गते देशको गरिमा बोकेका संरचना जलाईनु र रबिलाई छुटाउनु निकै षड्यन्त्रपूर्वक गरिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिले फेरि तिनै व्यक्तिहरु प्रधानमन्त्रीको भागभण्डा गर्दैछन् रे, प्रधानमन्त्रीको भागभण्डा त कांगे्रस, एमाले र माओवादीले पनि गरेकै थिए । ती पार्टी र वर्तमान परिप्रेक्षमा हाई हाई बनाईएका व्यक्तिमा केहि फरक देखियो त ?” अब नागरिकले हरेकको मूल्यांकन गर्न आवश्यक रहेको भन्दै व्यापार व्यवसाय गरेर बैंकको ऋण तिर्ने वातावरण बनाईनुपर्नेमा उहाँको जोड थियो ।