Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तीन वटा दलले आयोगमा बुझाए समानुपातिकको बन्दसूची

तीन वटा दलले आयोगमा बुझाए समानुपातिकको बन्दसूची

  • PNN Times
  • आइतवार, पौष १३ २०८२


  • पुस १३, काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।

    आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन् ।

    images

    तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका आइतबार र सोमबार बन्दसूची पेश गर्ने समय तोकिएको छ ।

    आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए । 

    पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए ।

    निस्सा लिएपछि बन्दसूची पेश गर्नको लागि दर्ता गरिने उनको भनाइ छ ।

    सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिए । निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि उनले बताए ।

    सोमबार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने पनि उनले जानकारी गराए ।

    ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पुस १३ र १४ गते दुई दिन बन्दसूची पेश गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरूबाट जम्मा १३४ जनाको बन्दसूची यहाँ भेरिफाइड भइसकेको छ,’ उनले भने, ‘निस्सा लिएर बन्दसूची पेश गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौं ।’

    प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे । 

    आइतवार, पौष १३ २०८२०५:०९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend