वालिङ, १६ माघ ।
निर्वाचनका बेला उम्मेद्वारले बेला आशा र बाचा मात्रै बांढ्ने तर जितेपछि बिर्सने मतदाताहरुले गुनासो गरेका छन् ।
स्याङ्जाको वालिङमा शुक्रबार भएको मतदाताको प्रश्न उम्मेदवारको जवाफ कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
यहाँको आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्गको स्तरोन्नति विषय चुनावी एजेण्डा मात्रै बन्ने गरेको र यस्ता महत्वपूर्ण विषय चुनावी एजेण्डामा मात्रै सीमित हुँदा समग्र जिल्लाको प्रमुख व्यापारिक केन्द्र वालिङ क्षेत्र ओझेलमा परेको मतदाताहरुको गुनासो छ । वालिङ ८ का मतदाता प्रकाश अर्यालले भन्नुभयो, “हरेक निर्वाचनमा उम्मेदवारहरुले वाचा र आशा देखाउछँन तर ती बाचा अधुरा रहँदा आम नागरिकमा नैराश्यता छाएको छ ।”
सिद्धार्थ राजमार्गको मुख्य भागमा रहेको स्याङ्जामा विकास दु्रत गतिमा किन अगाडि बढ्न सकेको छैन भन्दै सहभागी मतदाता श्याम डुम्रेको प्रश्न गरे । प्रशासनिक रुपमा अब्बल मानिएको जिल्लाबाट नेतृत्व तहमा पनि विभिन्न पार्टीबाट प्रतिनिधित्व गरेपनि आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्ग ओझेलमा परेको मतदाताहरुको गुनासो थियो । यसैगरी रमेश अर्यालले बारबारा फाउण्डेसनसंँग जोडिएका व्यक्तिहरुलाई रास्वपाले निकै प्रचारपचार गरेको भन्दै राष्ट्रियताको सवालमा रास्वपाको परराष्ट्र नीति कस्तो रहन्छ भनी प्रश्न गर्नुभएको थियो ।
जुन गतिमा हुनुपर्ने हो सो अनुसार विकास हुन नसकेको स्वीकार गर्दै २०४६ अगाडिको र त्यसपछिको समय तुलानात्मक रुपमा हेर्ने हो भने विकासको गति गाउँगाउँमा पुगेको स्याङ्जा क्षेत्र नम्वर २ का नेकपा एमालेका उम्मेदवार खिम थापाको भनाई थियो । स्याङ्जाको वालिङमै सुविधा सम्पन्न अस्पताल निर्माण गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने आफ्नो मुख्य एजेण्डा भएको भन्दै पितृले भोट हाल्ने जिल्लाको रुपमा चिनिएको स्याङ्जाको दुई नं. २ क्षेत्रलाई अब पितृलाई सम्मान गर्ने जीवित व्यक्तिले स्वतन्त्र रुपमा भोट हाल्न पाउने वातावरण यो पटक सिर्जना हुने थापाको विश्वास छ । नीति नबनाईकन बाँदर नियन्त्रण गर्न नसकिने भन्दै बाँदर नियन्त्रणको एजेण्डा आफ्नो प्रमुख एजेण्डा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा रास्वपाका उम्मेदवार झविलाल डुम्रेले ग्रामिण क्षेत्रको दिगो विकासले नै मुलुकमा समृद्धि प्राप्त गर्न सकिने भन्दै आईटिलाई सहि रुपमा प्रयोग गनुपर्ने बताउनुभयो । यसरी ग्रामिण क्षेत्रको विकासलाई शसक्त रुपमा अगाडि बढाउनु नै आफ्नो प्रमुख एजेण्डा रहेको डुम्रेको भनाई थियो । एजेण्डामा मात्रै सीमित रहेका आँधीखोला हाईड्याम र सिद्धार्थ राजमार्गको स्तारोन्नतिलाई मुर्त रुप दिँदै पर्यटनको विकासमा आफ्नो मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर विश्वकर्मा, राप्रपाका रविन पाठक, नेशनल रिपब्लिक पार्टीका तेजबहादुर थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजेन्द्र गैह्रे, जय मातृभुमि पार्टीका धनबहादुर थापाले आ–आफ्ना एजेण्डाहरु प्रस्तुत गरेका थिए ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेको बेला स्याङ्जाका मतदाताले उम्मेदवारसंँग गरेका अपेक्षा र उम्मेदवारहरुले आम नागरिक तथा समग्र स्याङ्जाको विकासका लागि बनाएका ऐजेण्डाका बारेमा सार्वजनिक बहस गर्न यो साझा मञ्च उपलब्ध गराईएको अकला आवाजका अध्यक्ष प्रकाश डुम्रेले बताउनुभयो । कार्यक्रम अकला आवाज साप्ताहिकले आयोजनामा भएको हो । 