पौष १३, स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को आयोजनामा आज वालिङमा विरोध प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएको घटनाको विरुद्धमा नेपाली काँग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरे बमोजिम नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को आयोजनामा आज वालिङमा विरोध प्रदर्शन गरिएको हो ।

विरोध कार्यक्रममा बोल्नुहुँदै पूर्व सांसद एवं काँग्रेस पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले चुनाव पनि नहुने र संसद पनि पुनस्थापना हुन नसकेमा देश संकटको भूमरीमा फस्ने बताउनुभयो । उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि ओली सरकारको असंवैधानिक निर्णयविरुद्ध लाग्नुको विकल्प नभएको बताउनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिच्ने र लोकतन्त्रमाथि प्रहार गरेका छन् यो काँग्रेसका लागि स्वीकार्य छैन् नेता रेग्मीको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डेले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनको आशा देखाएर झुक्याउन थालेकाले होशियार हुनुपर्ने बताउनुभयो ।
उहाँले यो सरकारले निर्वाचन पनि गराउँदैन र संसद पुनस्र्थापना पनि नगराउने र देशलाई संकटतर्फ धकेल्ने काम गर्न उद्धत रहेको बताउनुभयो । नेपाली काँग्रेसले जब जब देशमा संकट आईपर्छ तब तब नेतृत्वदायी भूमिका निर्वाह गरी समाधान गरिरहेको स्मरण गर्दै फेरि नेपाली काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको नेता पाण्डेले बताउनुभयो । ओली सरकारले असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरेर देशमा अधिनायकबाद र निरकुशता लाद्न खोजेको नेता पाण्डेको भनाई थियो ।

विरोध कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली काँग्रेस महासमिति सदस्य भोजराज अर्याल, काँग्रेस महासमिति सदस्य एवं भीरकोट नगर प्रमुख छायाराम खनाल, चापाकोट नगर प्रमुख एवं महासमिति सदस्य शिवकुमार गिरी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, महाधिवेशन प्रतिनिधि लिलबहादुर रनपाल, नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, काँग्रेस जिल्ला सदस्य बिक्रम सारु, तरुण दल जिल्ला सचिव चन्द्र राना लगायतले ओली सरकारले गरेको संसद विघटनको चर्को आलोचना गर्दै संसद पुनस्थापनाको माग गरेको थिए ।
विरोध कार्यक्रम पूर्व नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले वालिङ बजार परिक्रमा गरी मोडमा कोणसभा गरेको थियो । विरोधसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति देबबहादुर खाँण ईश्वरको सभापतित्वमा सम्पन्न विरोध कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव दामोदर लम्सालले र स्वागत तथा कार्यक्रममाथि प्रकाश क्षेत्रीय सहसभापति अर्जुनप्रकाश अर्यालले गर्नुभएको थियो ।