Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दाहाल-नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय

दाहाल-नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय

  • PNN Times
  • सोमवार, माघ १९ २०७७


  • दाहाल-नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय

    काठमाण्डौ — नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

    सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको उक्त समूहले केन्द्रीय कमिटीको चौथो बैठकले यसअघिको  स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

    images

     बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको बताए । यस्तै, स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए ।

    उनले भने,‘बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो  निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।

     बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि पार्टीको  बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

    उनले भने,‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’

    प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देश्न जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

    यस्तै, बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताए । उनले भने,‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रविरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भीरतापूर्वक नियाल्ने छ र पार्टी सँधै लोकतन्त्रको पक्षमा छ र त्यस प्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’

    प्रकाशित : माघ 19 . 2077\10\19;; 05;23

    सोमवार, माघ १९ २०७७०५:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend