Logo

शनिवार, कार्तिक १ गते २०८३

images

केपी ओलीसँग अब साइबर सेना मात्रै छ : नेता नेपाल

केपी ओलीसँग अब साइबर सेना मात्रै छ : नेता नेपाल

  • PNN Times
  • सोमवार, माघ २६ २०७७


  • केपी ओलीसँग अब साइबर सेना मात्रै छ : नेता नेपाल

    काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले विगतमा भएका कमीकमजोरीसहित श्‍वेतपत्र जारी गर्ने बताएका हुन् ।कार्यक्रममा उनले भने, 'विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं । जसलाई मान्छेले श्‍वेतपत्र भन्ने गरेका छन् । श्‍वेतपत्र जारी गरौं भन्नेमा छौं । यो केपी प्रवृत्ति विरुद्धको लडाइँ हो । यी प्रवृत्तिहरु नै हामीमा भए भने हामी पनि कपीको अर्को अवतार हुन पुग्ने छौं । केपीको नयाँ-नयाँ अवतार चाहिएको छैन । एक केपीले यो देश आजित भइसक्यो भने केपीको नयाँ-नयाँ अवतार आए देश थिलोथिलो भएर सिद्धिन्छ । हामी चाहन्छौँ सबै हिसाबले यो देशले, लोकतन्त्रले जितोस् ।’

    अध्यक्ष नेपालले अहिले लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताए । 'केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा रहेको छौं । उनले संवैधानिक शासनलाई चुनौती दिएका छन् । आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन,’ उनले भने, संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

    images

    नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । 'चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरु मात्रै छन् । त्यहाँ क्रान्तिकारीहरु, योद्धाहरु हैन । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरु हामीसँग छन्,' नेपालले भने ।

    अध्यक्ष नेपालले ओली र नेपाल कम्युनिस्ट पार्टीबीच अब कुनै सम्बन्ध नभएको दाबी गरे । केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकाली सकेका छौं । अब उनको नेकपासँग कुनै सम्बन्ध छैन । तैपनि उनलाई नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली बा समूह समूह बनाए सबैभन्दा राम्रो,’ उनले भने ।

    संविधान, कानुनबमोजिम सर्वोच्च र निर्वाचन आयोगबाट फैसला हुने विश्वासमा आफूहरु रहेको उनको भनाइ छ । '४३३ जनाको केन्द्रीय कमिटीमा झण्डै ३ सयको हाराहारीमा सदस्यहरु हाम्रो साथमा छन् । केपीको पक्षमा १०० जति पनि छैनन् । हामीलाई विश्वास छ, अदालत, निर्वाचन आयोगबाट संविधान र कानुनअनुसार फैसला हुनेछ,' नेपालले भने, 'जहाँ हामी छौं, सूर्य चिन्ह त्यहीँ आउँछ ।'

    ओलीले चुनाव पनि नगराउने र देशलाई द्वन्द्वमा धकेल्न खोजेको नेपालको आरोप छ ।

     

    सोमवार, माघ २६ २०७७०४:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend