साउन ३, पर्वत । यतिबेला नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । देशकै ठुलो लोकतान्त्रिक पार्टी कांग्रेससको महाधिवेशनको लागि केन्द्र देखि प्रदेश र जिल्ला सम्म नेतृत्वमा नेताहरुले दावी प्रस्तुत गर्ने लहर नै चलेको छ । पर्वत जिल्लामा पनि सभापतिका लागि नेताहरु मैदानमा उत्रिसकेका छन् ।
पर्वतमा कांग्रेस सभापतिका लागि आकांक्षीहरु बढ्दै छन् । विगत बाह्रौँ र तेह्रौँ महाधिवेशनमा जिल्ला सभापतिका प्रत्यासी उमेदवार एवं हाल पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी चौँधौँ अधिवेशनका सबै भन्दा बलिया दावेदार मानिएका छन् ।
तिवारी राजनीतिमा लागे देखि नै पार्टीको महाधिवेशन प्रतिनीधि एवं महासमिति सदस्यको जिम्वेवारीमा निरन्तर रहिरहेका र जिल्लाकै पपुलर नेता हुन ।
त्यसै गरि पार्टीका भुत पूर्व सभापति नवराज गुरुङ पनि सभापतिका उमेदवार बन्ने संभावना पनि छ । सहमति कायम गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजान र देउवा पक्षिय नेता द्वय अर्जुन जोशी र नवराज गुरुङ बिच सम्बन्ध सुधारका लागि नवराज गुरुङ सभापति बन्ने चर्चा समेत कार्यकर्ता वृतमा चल्दै छ ।
पूर्व सांसद एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीका भाइ युवराज जोशीले पनि अब पार्टी सभापति नछोड्ने गरि आफ्नो भेटघाटलाई तिव्र बनाएको बुझिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष एवं पर्वत कांग्रेसका कोषाध्यक्ष रामकृष्ण मल्ल पनि सभापतिको दौडमा रहेका छन् । उनले जिल्ला भर कार्यकर्ता भेटघाटलाई तिव्रता दिएका छन् ।
पार्टीका महासमिति सदस्य एवं शहीद पुत्र गंगाधर तिवारी पनि सभापतिको लागि जोडबल गरिरहेको बुझीएको छ ।
यसै बिच नेपाली कांग्रेसकी पूर्व महासमिति सदस्य एवं पैयूँ गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङ पनि सभापतिका लागि उमेदवार हुने बुझिएको छ ।
महिलाले पनि सभापति बनेर पार्टीको नेतृत्व गर्न सक्छन् भनेर जनमानसमा एउटा उदाहरण बन्न र समग्र पर्वत कांग्रेसलाई एकढिक्का बनाएर लैजान आफु सक्षम रहेको बताउदै उनि सभापति बन्न सक्ने कुरा बाहिर आएको छ ।
गुरुङ पर्वतकै सिनियर र सबैले स्विकार गर्न सक्ने साझा उमेदवार बन्ने संभावना पनि उत्तिकै छ । केहि समय अमेरीका बसेर फर्के लगत्तै गत स्थानीय निर्वाचनमा पैयूँको उपाध्यक्ष जित्न सफल गुरुङ आफु सभापति बनेमा सिंगो पर्वत काग्रेसको अविभावक बनि पार्टीलाई एक ढीक्का बनाएर लैजाने बताएकी छन् ।
त्यसै गरि ने.वि. सघं पर्वतका अध्यक्ष मिलन सुवेदी पनि जिल्ला सभापति लड्ने उद्घोष गरि अगाडि बढेका छन् । युवाले पार्टीको नेतृत्व गर्नु पर्छ । विरासत, सम्बन्ध र चाप्लुसीले हैन क्षमताले नेतृत्व गर्ने हो भन्दै सुवेदी नेतृत्वको मैदानमा उभिएका छन् ।