वालिङ,२ भाद्र । स्याङ्जाको वालिङमा सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
नेकपा एमालेका दुई भातृ संगठनहरु राष्ट्रिय युवा संघ वालिङ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,वालिङको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको हो ।
सरकारद्वारा जारी दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ को विरोधमा युवा संघले प्रदर्शन गरेको हो । राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर, मापसे सरकार मुर्दावाद, सुकुम्बासी रोएको छ देउवा सरकार कहाँ छ लगायतका प्लेकार्ड सहितको जुलुशले वालिङको मुख्य बजारको चोकमा कोणसभा गरेको हो ।
वालिङ मोडमा भएको प्रदर्शनमा अनेरास्ववियु वालिङका अध्यक्ष सगुन रानाले अदालतको आदेशमा बनको सरकारले नागरिकको बाँच्न पाउने न्याय खोसेको आरोप लगाउनुभयो ।
उहाँले दुई तिहाईको जनमत पाएको ओली नेतृत्वको सरकारलाई अदालतको निर्णयमा षड्यन्त्रपूर्वक पाखा लगाइएको आरोप लगाउँदै सुकुम्बासी आयोग खारेज गरेर भूमिहिनहरुको बास खोसेकोमा आपत्ति जनाउनुभयो । बुधबार भएको प्रदर्शन तथा कोणसभामा राष्ट्रिय युवा संघ,वालिङ नगर कमिटिका अध्यक्ष प्रिन्स पराजुली ‘विवेक’ ले देउवा नेतृत्वको सरकार व्यक्तिगत र दलिय स्वार्थमा डुबेको आरोप लगाउनुभयो ।
उहाँले अफगानिस्तानमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकार असफल रहेको औँल्याउनुभयो ।
अध्यक्ष पराजुलीले व्यक्तिगत स्वार्थको लालसाका कारण सरकारले मन्त्रीमण्डल विस्तार गर्न नसकेको आरोप लगाउँदै देशलाई अस्थिरतातर्फ धकेलेकोले सरकार नागरिक प्रति अनुत्तरदायी बनेको बताउनुभयो ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कठपुतली सरकारको जनघाती निर्णय तथा सरकारी दमनको विरुद्ध देशव्यापि आन्दोलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।