भदौ ४, वालिङ । पुर्व मन्त्री पद्मा अर्यालले कृषि आधुनिकिकरणमा जोड दिनुभएको छ । कृृषि प्रणालीमा आधुनिकिकरण र यान्त्रीकीकरणको उपयोगले मात्रै समृद्धि संभव रहेको पूर्व मन्त्री अर्यालले बताउनुभएको हो ।
शुक्रबार वालिङ साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित कृषकलाई अनुदान कृषि सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री अर्यालले आधुनिक प्रविधिको प्रयोगले कृषि व्यवसायबाट सफलता लिन सकिने उल्लेख गर्नुभयो ।
नागरिकको जीवनस्तर उकास्नका लागि पनि कृषिमा यान्त्रिकीकरणको आवश्यकता रहेको उहाँको भनाई छ । साथै पूर्व मन्त्री अर्यालले ओली सरकारले गरिव तथा विपन्न वर्ग लक्षित कार्यक्रमहरु ल्याएपनि अहिलेको सरकारले ती कार्यक्रम लागू नगर्न परिपत्र गरेकोमा आपत्ति जनाउनुभयो ।
नेकपा एमाले विभानबारे पूर्व मन्त्री अर्यालले विभाजनको संकेत धेरै पहिले नै देखिएको हुँदा पार्टीलाई फुटबाट जोगाउन धेरै प्रयास गर्दा पनि असफल रहेको बताउनुभयो । उहाँले माधव नेपाल पक्ष विना बिचार पार्टी छोडेर बाहिरिएको उल्लेख गर्नुभयो ।
विश्व इतिहासमा कम्युनिष्टहरु गहन विचारका साथ विभाजन भएको स्मरण गर्दै अर्यालले नेकपा एमालेका नेपाल पक्षका केही नेताहरु विना बिचार विभाजन भएकोमा आश्चर्य लागेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सहकारीले उत्पादनका क्षेत्रमा लगानी गर्नु सकारात्मक पक्ष रहेको भन्दै कृषि उपकरणको उपयोगबाट व्यवसायलाई थप विस्तार गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
सहकारीले ६ वटा हाते ट्याक्टर, ६ ओटा सानो मिल, १ सय २५ ओटा प्लाष्टिकका टनेल, विषादी स्प्रेयर, भैँसी, बाख्रा, कुखुरा, मासु पसलहरुका लागि गरी २५ जनालाई ३ लाख ३५ हजार प्रोत्साहन रकम वितरण गरेको छ ।
यसका साथै लोकल कुखुराका १२ सय चल्ला, विभिन्न प्रजातिका फलफुलका २ हजार विरुवाहरु वितरण गरिएको सहकारीका अध्यक्ष सीता पाण्डेले जानकारी दिनुभयो ।