Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमालेको गल्याङ नगर अधिबेशन जारी,एमाले पहिलो पार्टी बन्ने जिल्ला अध्यक्ष पारसको दावी

नेकपा एमालेको गल्याङ नगर अधिबेशन जारी,एमाले पहिलो पार्टी बन्ने जिल्ला अध्यक्ष पारसको दावी

  • PNN Times
  • मंगलवार, कार्तिक ९ २०७८


  • नेकपा एमालेको गल्याङ नगर अधिबेशन जारी,एमाले पहिलो पार्टी बन्ने जिल्ला अध्यक्ष पारसको दावी

    कार्तिक ९,गल्याङ । नेपाल कम्युनिष्ट पार्टी एमालेको गल्याङ नगर अधिबेशन भैरहेको छ । गल्याङ नगरपालिका वडा नम्बर ३, गल्याङबजार लेमभित्तामा एमालेको नगर अधिबेशन भैरहेको हो । अधिबेशनको उद्घाटनमा नेकपा एमालेका स्याङ्जा जिल्ला कमिटि अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्तिको रुपमा आउने दावी गर्नुभयो । उहाँले देशभर एमालेको पक्षमा जनलहर आइरहेको भन्दै यो अधिबेशन पछि एमाले अझै सशक्त रुपमा उभिने बताउनुभयो ।

    अध्यक्ष गैह्रेले भन्नुभयो –‘एमालेको शक्ति देखेर विपक्षीहरु अत्तालिएका छन् । हामीले संगठनलाई अझै मजबुद बनाउनुको विकल्प छैन ।’कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य पुण्य भूसालले जेष्ठ नागरिकलाई भत्ता वितरण देखि हालसम्म एमालेले जनपक्षीय काम मात्रै गरिरहेको बताउनुभयो । वडा अधिबेशन देखि अहिलेसम्म आउँदा एमालेको जनसंगठन बन्ने क्रम बढिरहेको भन्दै उहाँले यसलाई अझै व्यापक बनाउनुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटि सदस्य एवम् गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पार्टी एकता पछि पार्टी कमिटिहरु व्यवस्थित हुन नसकेको भन्दै अहिले पार्टी कमिटि व्यवस्थित हुन थालेको बताउनुभयो ।उहाँले गल्याङ नगरपालिकामा एमाले विभाजन नभएको दावी पनि गर्नुभयो ।

    images

    अधिकारीले भन्नुभयो –‘एमाले पहिले भन्दा बढि एकताबद्व छ, एमाले कमजोर भयो भनेर विपक्षीले आँखा चिम्स्याउन र दिउसै सपना देख्न जरुरी छैन ।’उहाँले समाजवाद उन्मुख अर्थ व्यवस्था सहित जनजीविकाको सवालमा पार्टी अझै अगाडि बढ्नुपर्ने बताउनुभयो । अधिकारीले विधि, निति मान्ने र गुटबन्दी नगर्ने नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रमको अध्यक्ष पनि रहनुभएकी गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापा मगरले व्यवस्थित ढंगले वडा अधिबेशन सम्पन्न भइसकेको भन्दै एमालेलाई शक्तिशाली पार्टीको रुपमा विकास गर्न अधिबेशनको विशेष महत्व रहेको बताउनुभयो ।  

    कार्यक्रममा संविधानसभाका सदस्य मुक्तिप्रसाद पाठक, जिल्ला समन्वय समितिका सदस्य धनमाया विश्वकर्मा, नगर कमिटि सचिवालयका सचिव छविलाल भूषाल लगायतले मन्तव्य राख्नुभएको थियो । यो समाचार तयार पार्दा सम्म उद्घाटन सत्र भर्खरै सम्पन्न भएको छ भने बन्द सत्र सुरु हुन सकेको छैन । नगर कमिटिको नेतृत्वका लागि आकांक्षीहरुको संख्या धेरै भएकाले निर्वाचन हुने सम्भावना रहेको बताइएको छ ।   

    मंगलवार, कार्तिक ९ २०७८०६:२७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend