गोपाल जिटी
कार्तिक ९,वालिङ ।
मङ्गलबार नेकपा एमालेले देशभरका पालिकाहरुमा पार्टीको अधिवेशन शुभारम्भ गरेको छ । मङ्गलबार दिउसो १ बजे पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका पालिकाका अधिवेशन उद्घाटन गर्नुभएको हो । यस अघि ६ गते शनिबार पनि यसैगरी देशभरका वडा अधिवेशनको पूर्व प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट समुद्घाटन गर्नुभएको थियो ।
यसैक्रममा नेकपा एमाले वालिङ नगर कमिटिको प्रथम अधिवेशनमा सम्वोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्मा अर्यालले सुन्दर र समृद्ध नेपाल समाजवादको गन्तव्यमा पुग्नको निम्ति नेकपा एमाले क्रियाशिल हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले देशलाई समृद्धितर्फ उन्मुख बनाउने दायित्व एमालेको भएको उल्लेख गर्नुभयो ।

पुर्व मन्त्री अर्यालले एमालेमा भिजन र विचार दुवै भएको भन्दै समृद्ध नेपाल निर्माण गर्दै समाजवाद निर्माण गर्ने जिम्मा एमालेको काँधमा रहेको दावी गर्नुभयो । वर्तमान समयमा एमाले सबैको केन्द्र बनेकोे र हिजो काँगे्रसमा रहेको पावर सेन्टर अहिले एमालेमा रहेको व्यक्त गर्नुभयो । एमालेको प्रगतिको उचाई देखेर विपक्षीले १ पार्टीलाई ३ पार्टी बनाउँदा पनि एमाले सबैको पावर सेन्टर रहेको पुर्व मन्त्री अर्यालको भनाई छ ।
एमालेको सरकारले ऐतिहासिक काम गरेको भन्दै २०७४ सालको स्थानीय निर्वाचत अगाडिको ओली सरकारले नाकाबन्दीको सामाना ग¥यो, यसभन्दा अगाडि सरकारमा हुँदा पनि जनताको मनमष्तिकमा स्मरण हुने काम गरेको पूर्व मन्त्री अर्यालले व्यक्त गर्नुभयो ।
६ गते शनिबार गरिएका वडा अधिवेशनबाट सर्वसम्मतीमा नयाँ कमिटि चयन गरेको एमालेले पालिकास्तरमा पनि सर्व सम्मतीमै सम्पन्न गर्ने प्रयासमा जुटेको छ ।