सर्लाही — कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ । झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

जिल्ला अस्पतालमा उपचाररत मतदान अधिकृत उमेशचन्द्र झा । कांग्रेस कार्यकर्ताले प्रहारपछि उनी घाइते भएका हुन् । तस्बिरः ओमप्रकाश ठाकुर/कान्तिपुर
बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो भने संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो । त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो । कांग्रेस कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
‘विवाद उत्पन्न भएपछि कांग्रेसको एक पक्षले जबरजस्ती मतदान अधिकृतलाई लैजान खोज्दा प्रहरीले रोक्यो, त्यसक्रममा उनीहरुले ढुंगामुढा गर्न थाले,’ एसपी प्रसाईंले भने, ‘स्थिति नियन्त्रणमा लिनका लागि केही राउण्ड अश्रुग्यास प्रहार भएको छ, अहिले अवस्था सामान्य छ, घाइतेको पनि उपचार भइरहेको छ ।’
प्रहरीले अनावश्यकरुपमा बल प्रयोग गरी आफ्ना कार्यकर्तालाई घाइते बनाएको त्यस क्षेत्रका संघीय सांसद अमरेशकुमार सिंहले बताए । ‘प्रहरीले हाम्रा कार्यकर्ताहरुलाई अनावश्यकरुपमा बल प्रयोग गरेर घाइते बनाएको छ, यसमा गृहमन्त्री बालकृष्ण खाँणले सत्ताको उन्माद देखाएका छन्,’ उनले भने ।