पुस ५, स्याङ्जा । पूर्व मन्त्री पद्मा कुमारी अर्यालले सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । गण्डकी प्रदेशकै पुरानो वालिङ बहुमुखी क्याम्पसको ४२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री अर्यालले साधारण शिक्षण पद्धतिलाई परिमार्जन गर्दै समयअनुकुल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
अबको शिक्षाले सहज जीवनयापनमा अभिप्रेरित गर्नुपर्ने भन्दै नेकपा एमाले केन्द्रीय सचिव समेत रहनुभएकी अर्यालले बोलीखाने शिक्षा भन्दा गरी खाने शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । साथै उहाँले वालिङ क्याम्पसका भौतिक पुर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि आवस्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पसलाई आंगिक क्याम्पस बनाउनका लागि प्रतिवद्ध रहेको भन्दै अहिले क्याम्पसमा भएको भौतिक परिर्वतनमा रहेको समर्पणलार्य आगामीदिनमा पनि कायम राख्ने उल्लेख गर्नुभयो । सीपमुलक तथा प्राविधिक शिक्षा थप गर्नका लागि पहल गर्न लागिपर्ने समेत उहाँले व्यक्त गर्नुभयो ।
मंसिर २८ गतेदेखि पौष ४ गते आईतबार सम्म क्याम्पसले विभिन्न कार्यक्रम गरी वार्शिकोत्सव मनाएको हो । क्याम्पसले वार्षिकोत्सवका अवसरमा संस्थापक तेजप्रसाद काफ्ले, कर्मचारी लोकनाथ बगाले, विभिन्न सेवा प्रदान गर्नुहुँने रुपेश प्रजापती, उदय पौडेल, देवेन्द्र भट्टराई, भुवन काफ्ले, अकिल शाही, अक्षयकोष दाता नन्दकुमारी श्रेष्ठ लगायतलाई सम्मान समेत गरेको थियो ।
२०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन । साथै वालिङ बहुुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सुनिश्चिता तथा प्रत्यायनकृत क्यूएए भएको क्याम्पस हो ।