पुस ६, स्याङ्जा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलकुदलाई मनोरञ्जनकारुपमा नलिएर व्यवसायी बनाउनुपर्ने बताउनु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा आयोजित अध्यक्ष कप कालिगण्डकी महोत्सवको मङ्गलबार उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेलकुदलाई मनोरञ्जनकारुपमा मात्र नलिएर व्यवसायी बनाउनुपर्ने बताउनु भएको हो ।
खेल क्षेत्रबाटै बाच्न सकिन्छ भन्ने बनाउनु पर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अन्य पेसा व्यवसायमा जस्तै खेल क्षेत्रबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेका बच्चालाई खेल क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्नु पर्ने समेत व्यक्त गर्नुभयो ।
पालिका, प्रदेश र राष्ट्र हुदै अन्तर्राष्ट्रिय रुपमा पनि चिनाउन खेल खेल्नु जरुरी भएको पनि उहाँको भनाई छ । नेपालले खेल क्षेत्रबाट देशको नाम विश्व सामु चिनाउन नसकेको छैन
। नेपाल भन्दा साना राष्ट्रले खेल क्षेत्रबाट विश्वसामु नाम राख्न सफल भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेललाई सम्मानपूर्वक लिन आवस्यक रहेको बताउनुभयो ।
सामुहिक प्रतिस्पर्धाका खेलले एकताको प्रतिक जनाउने पनि उहाँले व्यक्त गर्नुभयो । खेल क्षेत्रमा राजनीतिक गतिविधी गर्नु राम्रो नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशुद्ध खेललाई प्राथमिकता दिएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
मङ्गलबार सुरु गरिएको अध्यक्ष कप कालिगण्डकी महोत्सवमा भलिबल, फुटवल तथा क्रिकेट लगायतका खेल समावेस गरिएको कार्यक्रम कालिगण्डकी गाउँपालिकाले आयोजना गरेको हो ।

