भदौ २० । गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक राम्दीमा औद्योगिक ग्रामको काम सुरु हुने भएको छ ।
गल्याङ नगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकले राम्दीमा औद्योगिक ग्राम निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले चार नम्बर प्रदेशको प्रमुख नाका राम्दीमा प्रदेश स्तरीय प्रहरी चौकी बनाउन सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, गल्याङ नगरपालिका विपद व्यवस्थापन समितिको शनिबार नै बसेको बैठकको निर्णय अनुसार गल्याङ नगरपालिका भित्र प्राकृतिक विपदमा परेकाहरुको तथ्याङ्क संकलन गरी आइतबार विवरण पठाउने निर्णय भएको छ ।
नेपाल सरकार गृह मन्त्रालयको निर्णय बमोजिम नगरपालिका भित्र पूर्ण क्षति भएका परिवारको तथ्याङ्क संकलन गरी पठाइने भएको हो । बैठकले विपदमा परेकाहरुको राहत तथा उद्दारका लागि विशेष पहल गर्ने निर्णय पनि गरेको नगर प्रबक्ता तथा वडा नम्बर एकका अध्यक्ष गणेश बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार विपद समितिमा भएको छलफलका आधारमा थप संकलन गरी विवरण पठाइनेछ ।
यस्तै बैठकले वडा नम्बर आठको तिन्दोवाटेमा प्रहरी चौकी बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । यसैगरी, वडा नम्बर २ मा स्वास्थ्य चौकी बनाउनका लागि जग्गा छनौट गर्न प्रमुख प्रसाशकीय अधिकृत इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।