Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

  • PNN Times
  • बुधवार, आषाढ १ २०७९


  • असार १,गण्डकी । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन्।

    यो चालु आर्थिक वर्ष २०७८/७९ को बजेट भन्दा ५ अर्ब ८६ करोड ९५ लाख ७३ हजारले कम हो। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट ल्याएको थियो।

    images

    सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार विनियोजन गरेको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानिय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख बजेट विनियोजन गरिएको छ। कुल बजेटमा चालुतर्फ ३६.९५ प्रतिशत, पुँजीगततर्फ ६१.६६ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १.३९ प्रतिशत र स्थानिय तहमा वित्तीय हस्तान्तरणतर्फ ५.८८ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रू ७ अर्ब ९२ करोड ७९ लाख र सशर्त अनुदान ६ अर्ब ९१ करोड ८३ लाख हुने उल्लेख छ। यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब २३ करोड ९९ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख, विशेष अनुदान ८६ करोड, रोयल्टी बापत प्राप्‍त हुने ३२ करोड ५० लाख, आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ।

    सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट ४ अर्ब ७१ करोड घाटा बजेट हो। सो घाटा बजेट चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको २ अर्ब ७१ करोडको मौज्दात रकमबाट पूर्ति गरिने अर्थमन्त्री बरालले उल्लेख गरे। त्यस्तै बाँकी २ अर्ब घाटा बजेट आन्तरिक ऋणबाट १ अर्ब र एक अर्ब नेपाल सरकारबाट ऋण लिएर पूर्ति गरिने उनले बताए।

    बुधवार, आषाढ १ २०७९०९:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend