श्रावण १३,वालिङ ।मानिसको उमेर सय नाघेपछि दाँत पलाएका समाचारहरु यदाकदा सुनिदै आएको कुरा हो । मानिसको उमेर चरण अनुसार उसको शारीरिक परिवर्तनसँगै स्वभाव पनि त्यही अनुसार विकास हुँदैजान्छ । सय वर्ष उमेर पारगरेपछि दाँतहरु पलाउनुका साथै उसको नयाँ जीवनको अनुभूति हुनेगरी शुन्य अवस्थाबाट विकास हुन थाल्छ भन्ने अग्रजहरुबाट सुनेका कुरा हुन् ।
स्याङ्जा वालिङकि एक वृद्ध महिलाको दाँत पलाएका छन् भने कपाल पनि कालो हुँदै आएको छ । वालिङ नगरपालिका वडा नम्वर ११ आमडाँडाकि १ सय ५ वर्षीय डिलाकुमारी खत्रीको अगाडिका दाँतहरु पलाएका छन् । यसैगरी सेताम्मे भएका कपाल पनि कालो हुँदै आएको छ । नागरिकता प्रमाणपत्र अनुसार डिलाकुमारीको जन्म विक्रम सम्वत १९७५ चैत्र ९ गते भएको हो । घुँडाको समस्याले हिँडडुल गर्न नसके पनि सबैसँग राम्रोसँग कुरा गर्ने क्षमताका साथै जोशिलोपनमा कुनै कमि छैन ।
यो उमेरमा पनि डिलाकुमारीको अनुहारमा कान्ति, दिल खोलेर हाँस्ने हाँसो, स्पूmर्ति उत्तिकैछन् । यसका साथै आँप्mना बालापनदेखिका कथा व्यथा पोख्ने क्षमता छ । स्थानीय गुप्ते राजादेखि ऐतिहासिक कालखण्डका कुरा सुन्न पाइन्छ डिलाकुमारीबाट । यतिमात्र कहाँ हो र, १९९० सालको भूकम्प र उ बेलादेखिका सामाजिक परिवेसका कुरा सुनाउनुहुन्छ । नातिनीको रेखदेखमा रहनुभएकि डिलाकुमारी खलाँति र खलाँतिनीसँग जिस्किन रुचाउनुहुन्छ । अरुको साहरामा भएपनि घर आँगन वरिपरि हिडडुल गर्दा आनन्द र खुसी लाग्छ उहाँलाई ।
खानामा दाल भात तरकारी र रोटी तथा माछा मासु आँफै खाने डिलाकुमारीलाई सामान्य दम बाहेक अन्य कुनै रोग छैन । खानामा अझैपनि विशेषगरी घिउ मनपर्छ ।आँखाका शक्ति र कान सुन्ने क्षमतामा पनि कुनै कमि छैन भने बोलिमा रहेको स्पष्टताले सबैलाई चकित पार्छ । डिलाकुमारीका उमेरका अरु धेरै हुनसक्छन् तर यत्तिको तेजोपन विरलै व्यक्तिहरुमा पाइएला भन्ने भेटेपछि स्पष्ट हुन्छ ।
सामान्य परिवारकि डिलाकुमारीमा असामान्य क्षमता र दीर्घजीवनको सफलता देख्न सकिन्छ । भगवानले स्वर्गलोकदेखि उच्च घरानिया तथा सामान्य परिवार अनि समाजमा विभिन्न रुपमा रहेर मानव जगतलाई उत्प्रेरित गरेका कथाहरु विभिन्न पौराणिक पुस्तकहरुमा पढ्न पाइन्छ । यसैगरी हरेक प्राणीको आत्मामा भगवान रहन्छन् भन्ने जनविश्वास छ । यसैको उदाहरणकारुपमा देख्न सकिन्छ डिलाकुमारी खत्रीमा ।
नगरपालिकाले गर्दै आएको जेष्ठ नागरिक सम्मानमा नपर्नुभएकी डिलाकुमारी वत्तीमुनीको अँध्यारोमै हुनुहुन्छ ।