मिन प्रसाद न्यौपाने
भदौ २७ । धार्मिक आस्था भन्दा पनि बलियो गरि जरा गाडेको राजनीतिक दल प्रतिको आस्थाले नेपालमा जनता भन्दा कार्यकर्ता धेरै भए । उमेदवार जतिसुकै निकम्मा भएपनि आफ्नो पार्टीको हो कुकुर भएपनि जिताउनु पर्ने भन्ने विवेकहीन मानसिकता विकास भएको छ । जीवन भर मत दिएको चिन्ह छोडेर अर्कोमा मत दिएर किन नर्कमा पर्न पर्यो भन्ने सम्म सुनिन्छ ।
कार्यकर्तालाई सांस्कृतिक आस्था झै राजनीति बोकाउने तर नेताहरु विवेकशून्य, अनैतिक निर्लज्ज भएर जनमतको धज्जी उडाउने प्रवृत्ति बढेको छ । अब जनतालाई असल, सक्षम, योग्य व्यक्ति रोज्न राजनीतिक दलको झण्डा र चुनाव चिन्हले वाधा पार्ने दलीय व्यवस्था विघटन गरी खुला प्रजातान्त्रिक व्यवस्था Open Democratic System को स्थापना गरौँ ।
राजनीतिक दलका नाममा खडा गरिएको सिण्डिकेट अन्त्यका लागि यो महत्वपूर्ण कदम हुन्छ । कानुनी शासन,नागरिक अधिकार, नागरिक सर्वोच्चता, पूर्ण प्रेस स्वतन्त्रता सहितको खुला लोकतन्त्र जहाँ हरेक व्यक्ति विधि, नीति र नैतिकताले बाँधिएको हुन्छ ।
आज हामी संग मौजुदा व्यवस्थामा जनता नोकर जस्ता भएका छन् । कथित दलीय व्यवस्थाका नाममा दलमा उही सामन्तवादी दलालहरु हावी हुने र राज्य स्रोतको दोहन गर्ने प्रवृत्ति बलियो भएको छ । जस्तोसुकै भ्रष्ट, बलात्कारी, घुसखोरी भए पनि पार्टी संगठनका नाममा चुनाव जित्ने र त्यही प्रवृत्ति दोहोर्याउने अनि जनता टुलुटुलु हेरेर बस्ने अवस्था सृजना भएको छ । मार्क्सले निर्माण गर्ने भनेको साम्यवादी व्यवस्थाको वर्ग विहिन र राज्य विहिन व्यवस्था जहाँ सर्वाहारा वर्गको अधिनायकत्व हुने भनिन्छ, ति सर्वाहाराको हालत के भएको छ ? अनि वि.पि. ले निर्माण गर्ने भनेको समाजवादी व्यवस्था जहाँ नागरिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासन जहाँ गरिब, किसान, मजदुर का हितमा सरकार हुन्छ भनिएको छ । त्यो सैध्दान्तिक धरातल कहाँ पुग्यो ?
प्रजातान्त्रिक व्यवस्थाका नाममा खडा गरिएका राज्यका सबै संवैधानिक अंगहरु कानुनी शासन कायम गर्नमा भन्दा पुँजीपति दलालहरुको चंगुलमा फसेर उनिहरुका रक्षक बनेका छन् । कथित दलीय व्यवस्थाका नाममा सृजना भएका राजनीतिक व्यवस्थाहरु दलालहरुका राज्य ब्रह्मलुटका अखडा बनेका छन् । पार्टीको नेता हुन कार्यकर्ता किन्ने, पार्टीको टिकट पाउन नेता किन्ने र मत किनेर चुनाव जितेर राज्यका महत्वपूर्ण पद हत्याउने व्यवस्थामा जनता र राज्य प्रति जवाफदेही को हुन्छ ? के मार्कसवादी साम्यवाद त्यही हो ? के त्यही हो वि.पि को समाजवादी व्यवस्था ? नेताले पार्टी सत्ता कव्जा गर्ने जनताले पार्टी भन्दा माथि उठेर मतदान गर्न नसक्ने र उसैलाई मानिरहनु पर्ने व्यवस्थाको विकल्प हो Open Democracy. कस्तो भएको छ भने, जनता जतिलाई कार्यकर्तामा भर्ना गरिएको छ र पार्टी अनुशासन सिकाइएको छ ।
पार्टीको भएपछि जस्तो उमेदवार भए पनि मत दिनुपर्छ भनेर सिकाइएको छ । अनि नेताले मन परि गरेपनि भैहाल्यो । सिमित कार्यकर्ताको सिण्डिकेटबाट पार्टी सत्ता प्राप्त गर्ने र तिनै माथिल्ला तहका नेताको निर्णयबाट राज्यसत्ता हत्याएर राज्यलुट मच्चाउने व्यवस्थाको विकल्प नखोजे सम्म सुधार होला ? अब जनता प्रति इमानका साथ काम गर्ने व्यक्ति लाई मतदान गर्ने व्यवस्था स्थापना हुनुपर्छ । विना पैसा पनि सक्षम, योग्य, जनप्रेमी नेता चयन गर्ने जनताको व्यवस्था स्थापना हुनुपर्छ । अब आफ्नो वर्गको हितमा काम गर्ने निम्न वा निम्न मध्यम वर्गको नेतृत्व स्थापना गर्ने व्यवस्था आउनु पर्छ ।
कथित माथिल्लो वर्गका मानिसबाट सर्वाहारा वर्गको हित हुन्छ भनेर कहिल्यै पनि नसोचे हुन्छ । त्यसैले अब दलीय सिण्डिकेट तोडेर विवेक, नैतिकता र ब्रह्मज्ञानले जित्ने व्यवस्था ल्याउनु पर्छ । राजनीति पद प्राप्त गरेर सम्मानित हुने होइन काम गरेर जनता, समाज र देसको उन्नयन गर्ने महत्वपूर्ण जिम्वेवारीको रुपमा विकास हुने व्यवस्था चाहिएको छ ।
हाम्रा दलहरु समयमा सुध्रिएर पूर्ण प्रजातान्त्रिक व्यवस्थाबाट सुसज्जित हुन सकेनन् भने, इमानदारीका साथ जनतामा समर्पित हुन सकेनन् भने, राजनीति विसुद्ध सेवा हो भनेर जनतामा व्यवहारले देखाउन सकेनन् भने र यसरी नै लुट मच्चाइरहे भने, यसरी नै विवेकहिन भएर स्वच्छन्द रुपमा वेलगाम जनतामाथि शासन गर्न सकिन्छ भन्ने ठानिरहे भने यो कथित दलीय व्यवस्थाको पनि पतन हुनेछ । जसरी अन्य जनविरोधी व्यवस्थाहरु पतन भएका थिए ।