असोज २८, फेदिखोला स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा ठूलो मात्रामा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । गाउँपालिकाको माथिल्लो र तल्लो खड्केटारीमा स्थित विभिन्न घरहरुबाट समुदाय (प्रहरी साझेदारी“ अन्तर्गत अवैध घरेलु मदिरा नियन्त्रण र नष्ट गर्ने अभियान अन्तर्गत मँगलबार र बुधबार घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहत प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्लास्टिकका ड्रमहरू नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि सहितको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले तयारी घरेलु मदिरा ३० लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ हजार ७ सय ७० लिटर सहित प्लाष्टिक ड्रम ३५ थान नियन्त्रणमा लिई नष्ट गरिएको जनाएको छ ।