Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार

  • PNN Times
  • शनिवार, फाल्गुण ३ २०८१


  • काठमाडौँ — आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ ।  

    अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

    images

    'आज २०८१ फागुन ३ गते शनिबार पोखराबाट जलन घाइते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको ३:३० बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारार्थ सघन उपचार कक्षमा भर्ना हुनुभएको छ,' विज्ञप्तिमा लेखिएको छ, 'उहाँहरूको प्रारम्भिक मूल्यांकनअनुसार ५-६% जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।'

    डा. विशाल कार्कीले दुवैको अवस्था सामान्य रहेको भन्दै पोलेको घाउ गहिरोमा परिणत हुने खतरा रहेकाले आईसीयूमा राखेर उपचार थालिएको जनाए । 'उहाँहरुको अवस्था सामान्य नै छ । पोलेको घाउ गहिरो देखिएको छैन । तर, गहिरोमा परिणत हुने खतरा हुन्छ । पड्किँदा उहाँहरूले धूवाँ निल्नु भयो । त्यसले भित्र असर परेको छ कि भन्ने अब्जर्ब गर्नका लागि पहिलो ४८ घण्टा आईसीयूमा राख्ने प्लान गरेका छौं । घाउ गहिरो हुने/नहुने ३/४ दिनमा थाहा हुन्छ । त्यो बेलासम्म ड्रेसिङ गर्ने, औषधि दिने गर्छौं,' उनले कान्तिपुरसँग भने । 

    उनीहरूको उपचारमा प्रा डा बीडी झा, डा. प्रवीण गिरी लगायतको सघन उपचार कक्षको टोली, प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादवलगायतको जलन विशेषज्ञहरू, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ । 

    पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा शनिबार रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको लप्काले बेलुन पड्किएको थियो । आगोका झिल्का उनीहरुको शरीरमा लागेको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।

    शनिवार, फाल्गुण ३ २०८१०९:५५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend