भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।
च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।
उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हौं । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म हामीले चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न ।’
डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।