असार १५,स्याङ्जा ।पछिल्लो समय चर्चामा रहेको कालीगण्डकी डाइभर्सन गल्याङ बासीले एक्लै भए पनि रोक्ने गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले बताउनु भएको छ ।
सरकारले कालीगण्डकी डाइभर्सन गर्न भन्दै बुटवलमा कार्यालय समेत स्थापना गरे पछि कालीगण्डकी डाइभर्सनबारे बिरोध भइरहेको बेला नगरप्रमुख अधिकारीले आफुहरुले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताउनु भएको छ ।
कालीगण्डकी डाइभर्सन गरिने भुभाग गल्याङ नगरपालिकाबाट सुरु हुने भएकाले गल्याङले त्यसको विरुद्धमा एक्लै भएपनि सशक्त रुपमा उत्रिने नगरप्रमुृख अधिकारीले बताउनुभयो ।
यदी सरकारले कालीगण्डकी डाइभर्सनबारे राम्रोसँग नागरिकलाई बुझाएर पानीको मात्रा र वहाव नघट्ने हिसाबमा लैजान खोजेको हो भने त्यस विषयमा सोँच्न सकिने उल्लेख गर्दै अधिकारीले बिना अध्ययन सिधै कालीगण्डकी डाइभर्सन गर्छु भन्नु सरकारको मुर्खता भएको बताउनुभयो ।
कालीगण्डकी नदीले गल्याङको पौराणिक तथा साँस्कृतिक महत्व बोकेको हुँदा सभ्यतालाई चलाउन नदिने गल्याङ नगरपालिकाले निर्णय गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
यो आयोजना कार्यान्वयन भएमा पौराणिक, धार्मिक, सांस्कृतिक धरोहर समाप्त पार्ने, मानवजातिको प्राचिन सभ्यताको अन्त्य गर्ने, समथर बस्तीहरु मरुभुमिमा रुपान्तरण हुने हुदाँ कालीगण्डकी डाइभर्सन रोक्नु पर्ने अधिकारीको भनाई छ ।
उहाँले मन्त्री भएको बेला चुनावी माहोल बनाउन योजना ल्याएर कालीगण्डकी डाइभर्सन गर्न नसक्ने बताउनु भयो ।

फोटो साभार : समाजिक सञ्जाल