असार ३१, स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा लम्बिएको छ । जिल्लामा कोरोना भाईरसका सक्रीय संक्रमितहरु घटेपनि कोरोनाको चेन बे्रक नभईसकेको भन्दै निषेधाज्ञा एक हप्ता थप गरिएको हो । थप गरिएको निषेधाज्ञा साउन ७ गतेसम्म रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार जिल्लाभित्र सञ्चालन हुने सवारीले अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ भने जिल्ला बाहिर जानुपरेमा प्रशासनको अनुमति लिनुपर्ने छ ।
त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ भने घर बाहिर हिड्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न भनिएको छ । त्यस्तै सबै प्रकारका गोष्ठी, सेमिनार, तालिम गर्न, मेला महोत्सव, जुलुस सभा गर्न पाईनेछैन् । सिनेमा हल पार्टी प्यालेसहरु सञ्चालन हुनेछैनन् भने रेष्टुरेण्टमा टेक अवे सेवा सञ्चालन गर्नेछन् ।
त्यस्तै विवाह, ब्रतबन्ध, अन्य सास्कृतिक कार्यहरु गर्दा घरमै सञ्चालन गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र विवाहको हकमा २५ जना भन्दा बढी सहभागी हुन पाइनेछैन् । त्यस्तै मठमन्दिरमा नित्य पूजा बाहेक अन्य पूजा गर्न पाइनेछैन् ।
यसैगरी पाल्पामा जारी बन्दबन्दीलाई केही खुकुलो बनाउँदै थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख १६ गतेदेखि जारी बन्दाबन्दीमा केही प्रावधानमा खुकुलो बनाइएको हो ।
समितिको बैठकले यस अघि बन्द रहेको सार्वजनिक यातायातलाई जोर विजोर आधारमा जिल्ला भित्र सञ्चालन गर्ने, सबै खालका व्यवसायहरु ५ बजेसम्म सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।