माघ २२,भीरकोट ।स्याङ्जाको भीरकोटमा कुखुराका चल्ला वितरण गरिएको छ । भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्था भीरकोट १ ले नगरपालिकाको सहयोगमा कुखुराका चल्ला वितरण गरेको हो । लक्षित वर्गको आयआर्जनका लागि दुईदिते तालीम सहित कुखुराका चल्ला वितरण गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सहकारीहरु उत्पादनका क्षेत्रमा लाग्नुपर्ने भन्दै आफ्ना सेयर सदस्यहरुलाई आयआर्जनतर्फ अभिप्रेरित गराउनुपर्ने बताउनुभयो । साथै सांसद मल्लले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि यस्ता तालिम तथा आयआर्जनसंँग जोडिएका कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले सहकारीले नगरपालिकामा निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि प्रस्ताव राखेसंँगै तालीमको आयोजना गरी चल्ला वितरण गरिएको बताउनुभयो । नगरपालिकाले लक्षित वर्गका लागि विभिन्न सिपमूलक तालिमसंँगै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको समेत नगर प्रमुख खनालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रति परिवार १० वटाका दरले ५४ जनालाई ५ सय ४० वटा कुखुराका चल्ला वितरण गरिएको छ ।