Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेसको सिद्धान्त कम्युनिष्टलाई भोट हाल्ने होइन : कोइराला

कांग्रेसको सिद्धान्त कम्युनिष्टलाई भोट हाल्ने होइन : कोइराला

  • PNN Times
  • शनिवार, फाल्गुण २१ २०७८


  • विराटनगर — कांग्रेस नेता शेखर कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनका रुपमा सहभागी नहुने बताएका छन् । अहिलेको दलीय गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै उनले निर्वाचनमा एक्लाएक्लै चुनावमा जाने बताए । वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक शनिबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो’, कोइरालाले भने, ‘कांग्रेसको सिद्धान्त कम्युनिष्टहरूलाई भोट हाल्ने होइन ।’

    देशभरका ७५३ वटै पालिकामध्ये अधिकांशमा जित्दै पार्टीले प्रदेश र संघमा पनि जित्ने दाबी कोइरालाले गरे । कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दलहरुलाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ भन्दै निर्वाचनसम्म गठबन्धन गर्नुपर्छ भन्ने उनीहरुको आलोचना गरे ।

    images

    कांग्रेस महामन्त्री गगन थापाले माले, मण्डले र मसाले एकै भएको उल्लेख गरे । ५ वर्ष शासन गर्छु भनेर दुई तिहाइ नजिकको मत लिएर आएको नेकपाले शासन सत्ता चलाउन ढंग नपुर्‍याउँदा २३ सिट जितेर पनि कांग्रेसले सत्ता चलाउनु पर्ने बाध्यात्मक अवस्था आइपरेको उनले बताए ।

    ‘पाँच वर्ष शासन गर्छु भन्ने तत्कालीन नेकपाले तीन वर्ष पुग्दानपुग्दै एकथरी घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्काथरि हामीलाई लखेटियो भन्दै लाम लागेर सरकार चलाइदिनुपर्‍यो भन्दै कांग्रेसलाई अनुरोध गर्न आए,’ थापाले भने, ‘त्यही कारण २३ वटा सिट जितेको कांग्रेसले केन्द्र सरकार चलाउनु परेको छ ।’ नेता मिनेन्द्र रिजालले पनि गठबन्धन गरेर चुनावमा जान नहुने धारणा राखेका थिए ।

    शनिवार, फाल्गुण २१ २०७८०७:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend