२७ चैत, आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन राजनीतिक दललाई महिलाहरुले आग्रह गरेका छन् ।
बुटवलमा भएको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उमेद्वारदेखि मतदाता’ विषयक बहस कार्यक्रमका सहभागीले दबाब बिना महिलाले मुख्य पदमा उम्मेदवारी दिन र मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरे ।
अग्रज पत्रकार इन्दिरा अर्यालले महिला नेतृत्वमा जाँदा गुटबन्दी र बदलाको भावना कम हुने भएकाले अध्ययनशील र संघर्षशीललाई अवसर प्रदान गर्न राजनीतिक दलका प्रमुखलाई आग्रह गरिन् ।
अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले आरक्षणलाई समेत खुम्च्याउने काम भएको बताउँदै संबैधानिक व्यवस्था कार्यान्वयनमा समेत ध्यान दिन आग्रह गरिन् ।
ब्लु डाइमण्ड सोसाइटीका आनिक रानाले यौनिक तथा अल्पसंख्यक समुदायलाई सधैं पछाडि पार्ने काम भएकाले अब सबैको पहिचान र अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण हुन आवश्यक रहेको बताइन् ।
सञ्चारिका समूह रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले पार्टीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति बनाएको जानकारी गराउँदै आगामी दिनमा महिला सहभागिता अझै बढाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्यालले नेतृत्वमा महिला सहभागिता बढ्दै गएको र सामथ्र्यता भएका महिलाले अवसर पाउने धारणा राखे ।
नेकपा एकीकृत समाजवादीका उपसचिव सरिता श्रीसले महिलाले माग्ने हैसियतबाट माथि उठ्नुपर्ने बताइन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका महिला मोर्चा अध्यक्ष ज्योति थापाले पार्टीले ५० प्रतिशत महिला सहभागिताको माग गर्दै आएको बताइन् ।