Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

कांग्रेसभित्रै असन्तुष्टि

कांग्रेसभित्रै असन्तुष्टि

  • PNN Times
  • आइतवार, चैत्र २७ २०७८


  • काठमाडौँ - सरकारले राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गरेको सन्दर्भमा सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले नै असन्तुष्टि पोखेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चलाउने नाममा लोकतान्त्रिक मुल्यमान्यता र प्रक्रिया मिचेर काम गर्दा पार्टी र मुलुकलाई नोक्सानी हुने जोखिम बढेको नेताहरूको भनाइ छ । मुलुकमा लोकतन्त्रको धरोहरकारुपमा रहेका संस्थाहरूमा एकपछि अर्को आक्रमण हुने र ती संस्थाको अस्तित्वमाथि प्रश्न उठाउने क्रम बढेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

    पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गर्दै कांग्रेस सभापति देउवा हाल प्रधानमन्त्री छन् । तर, गठबन्धन जोगाउने नाममा प्रधानमन्त्रीले लोकतान्त्रिक मुल्यमान्यता र विधि प्रक्रियामाथि उठेर काम गर्न थालेको नेताहरूको आरोप छ ।

    images

    कांग्रेसमा विशेष गरी नेता शेखर कोइराला पक्षले देउवाको खुलेरै विरोध गरेका छन् । त्यसो त देउवानिकट नेताहरूले पनि चुनावको मुखमा गठबन्धन बचाउने नाउँमा देउवाले पार्टीलाई हानी हुने गरी माओवादीलाई काँध हाल्न थालेको टिप्पणी गर्न थालेका छन् ।

    नेता शेखर कोइरालाले गभर्नर निलम्बन प्रकरणमा सरकारले ठूलो गल्ती गरेको बताए । उनले राष्ट्र बैंकमाथिको सरकारी हस्तक्षेपले सो संस्थाको स्वायत्ततामाथि प्रश्न उठ्ने बताए । ‘अर्थतन्त्र खस्किँदो छ, अर्थमन्त्रीले भूमिका खेल्नुपर्ने कतिपय काम त्यतिकै छन् । यस्तो बेला गभर्नर हटाउने कुरा राम्रो होइन,’ उनले इकान्तिपुरसँग भने, ‘अर्को कुरा, अमेरिकाबाट आएको संदिग्ध पैसाको बारेमा गभर्नरले प्रश्न उठाएको अवस्था छ । यस्तो परिस्थितिमा त झन् निलम्बन गर्न कसरी मिल्छ र ?’

    उनले गभर्नर निलम्बनका पछाडि थप मुद्दा र रहस्य लुकेको हुन सक्ने बताए । ‘यो एउटा कुरा भयो । अरु मुद्दाहरु पनि होलान्, ती विस्तारै खुल्दै जालान्,’ नेता कोइरालाले कान्तिपुरसँग भने, ‘राष्ट्र बैक स्यायत्त संस्था हो । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सौहार्द सम्बन्ध हुनुपर्ने हो । तर, अहिले त्यस्तो अवस्था रहेन । यस्तो बेला सरकारले एकातिर विलासिताका सामानमा रोक लगाउने निर्णय गरेको छ, अर्कोतिर चालिस करोडको संदिग्ध मुद्दा छ । सरकारको यस्तो निर्णयले भोलि राष्ट्र बैंकको स्वायत्ततामाथि प्रश्न उठ्न सक्छ ।

    उनले सरकारका कामकारवाहीबारे केन्द्रीय समितिमा कुरा उठाउने बताए ।

    उनले प्रधानमन्त्री देउवाले गठबन्धनको नाममा अनेक किसिमका विवादास्पद निर्णयहरू गर्न थालेको बताए । ‘गठबन्धन सरकार छ, चुनावमा पनि गठबन्धन गरेर जाने भनिएको छ । तर, कार्यकर्ताको मन र भावना के छ भनेर बुझ्ने कोशिस भएको छैन,’ उनले भने, ‘अहिले फेरि केन्द्रबाटै तालमेलको निर्णय गर्ने प्रयास भइरहेको छ । यसरी सबै कुरा गठबन्धनका लागि पार्टीले त्याग्दै जाने हो भने पार्टीको भविष्य के हुन्छ ? मुलुकको भविष्य के हुन्छ ?’

    त्यसो त कांग्रेसमा पहिले पनि गिर्दो अर्थतन्त्र र सरकारको नेतृत्वमा कांग्रेस भएपनि गबठन्धन हाबी भएको कुरा उठ्दै आएकै हो । यसअघि चैत्र दोस्रो साता बसेको केन्द्रीय कार्यसमितिको बैठकमै केन्द्रीय सदस्य एवम् सांसद प्रकाश स्नेहीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका थिए । ‘मुलुकको अर्थतन्त्र गिर्दो छ, अर्थमन्त्रीलाई वास्ता छैन । सरकार गठबन्धनको छ, तर नेतृत्व कांग्रेसको छ । सरकारले जे गरे पनि जस–अपजस कांग्रेसले व्यहोनुपर्छ,’ सांसद स्नेहीले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, अर्थतन्त्र सुधार्ने हो भने तत्काल अर्थमन्त्री शर्मालाई निलम्बन गर्नुस्, र अर्को अर्थमन्त्री बनाउनुस् ।’

    तर, देउवाले त्यसबारे न कुनै जवाफ फर्काए, न केही प्रतिक्रिया दिए । बैठकमा बोल्ने सिनियर नेताहरूले पनि सरकारको काम कारबाहीमा प्रश्न उठाएका थिए । महामन्त्री गगन थापाले बैठकमा सरकारले सन्तोषजनक काम गर्न नसकेको, र यो सरकारले गरेका गलत कामको भारी कांग्रेसका उम्मेदवारलाई बोकाइनु नहुने बताए । ‘सामुन्नेमा चुनाव छ, सरकारमा गठबन्धन छ, यो सरकारमा गठबन्धनका मन्त्रीले गरेको गलत कामको भारी कांग्रेसका उम्मेदवारलाई नबोकाइयोस्,’ महामन्त्री थापाले भनेका थिए ।

    सभापति देउवानिकट नेताहरू पनि गभर्नर हटाएको विषयमा खुसी छैनन् । देउवाले गठबन्धन दलको स्वार्थअनुसार काम गर्दै गए माओवादीले फसाउँदै जाने नेताहरूको बुझाई छ । प्रधानमन्त्री देउवाले सरकारमा बसेर लोकतान्त्रिक मुल्यमान्यता र विधि प्रक्रियामा जोड दिन नसकेको कांग्रेसकै अर्का एक नेता बताउँछन् ।

    ‘अहिले गभर्नरले गल्ती गरे या ठीक गरे, त्यो एउटा विषय हो । यदि उनले ठीक गरेनन् भने पनि हामीले कुनै पनि काम गर्दा लोकतान्त्रिक मुल्यमान्यता र प्रक्रिया पुर्‍याएर अघि बढ्नुपर्ने थियो,’ ती नेताले इकान्तिपुरसँग भने, ‘हाम्रो लागि मुख्य कुरा भनेको लोकतान्त्रिक मुल्यमान्यता र विधिपद्धति हो ।’

    अहिले मुलुकका सबैजसो लोकतान्त्रिक धरोहरहरूमाथि आक्रमण हुँदै गएको ती नेताको भनाइ छ । ‘हामीले अदालतको प्रधानन्यायधीशलाई निलम्बित गरेका छौँ । महाभियोग पास गर्न होइन, उनलाई निलम्बिन गर्न लगाइएको छ । त्यहीकारण आज न्यायलय चुस्तदुरुस्त चलेको छैन । अर्कोतिर लोकतन्त्रको सबैभन्दा ठूलो खम्बा संसद हो, तर त्यो पनि चल्न सकेको छैन,’ ती नेताले भने, ‘त्यसमाथि दलहरूबीचको सम्बन्ध तनावपूर्ण छ । चुनाव नजिकिएको छ । यस्तो बेलामा प्रधानमन्त्रीज्यूले संयमित भएर देशलाई अघि बढाउनुपर्ने थियो ।’

    कांग्रेसकै कोइराला समूहका अर्का नेता देउवाले पनि केपी ओलीकै बाटो रोजेको टिप्पणी गर्छन् । ‘हिजो केपी ओलीले प्रतिगमन गरे भनेर हामीले विरोध गरेको, त्यसपछि यो सरकार बनेको हो । फेरि यो सरकारले पनि त्यही बाटो हिड्ने हो भने हामी र केपी ओलीमा के फरक भयो र ?,’ ती नेताको भनाइ छ ।

    मन्त्रिपरिषद्को गत विहीबार बसेको बैठकले राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेसँगै उनी निलम्बित भएका छन् ।

    आइतवार, चैत्र २७ २०७८०९:२६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend